नरैनापुरको मियापूर्वामा धार्मिक मेला सुरु

नरैनापुर ।

बाँकेको नरैनापुरको मियापुर्वामा रहेको मुस्लिमहरुको प्रसिद्ध धार्मिक स्थल आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा प्रत्येक वर्ष झै यस वर्षपनि उर्श(धार्मिक मेला) सुरु भएको छ ।

प्रत्येक बर्ष माघ महिनामा मजार विकास समितिले प्रसिद्ध बाबा आस्तान ए हजरत खलीफा नूर अहमद शाहकोे उर्स धुमधामको साथ मनाउदै आएको छ । माघ २० गतेदेखि सुरु भएको उर्समा नेपाल सहित छिमेकी मुलुक भारतका लाखौ धार्मिक श्रद्धालु( जाईरीन)हरुको सहभागिता रहेको छ ।

त्यसैगरी, उर्सको अवसरमा रातिको समयमा जलसा(धार्मिक प्रवचन) हुदै आएको छ भने भाकल गरेकाहरुले दैनिक रुपमा बाबाको मजारमा फतिहा, नियाज, तथा धार्मिक क्रियाकलाप गर्ने गरेका छन् ।
बाँकेको नेपालगंज देखि करिव ४७ किलो मिटर पुर्वमा अवस्थित नरैनापुर गाँउपालिका–२ स्थित आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा लागेको उर्से पाक औलया–ऐ केरामको पहिलो दिन शुक्रवार लुम्बिनी प्रदेशकि मन्त्री कृष्ण केसी नमूना र नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले संयुक्त रुपमा बाबाको मजारमा चादर चढाउँदै उर्सको उदघाटन गर्नु भएको डा.वकार शाहले जानकारी दिए ।

मन्त्री नमूनाले माजार शरीफलाई धार्मिक स्थलको रुपमा विकास गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरे । मजारलाई व्यस्थित बनाएको खण्डमा बाँकेको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउदै मन्त्री नमूनाले मजार शरीफमा खानेपानी, शौचालय, तथा धर्मशलाको काम प्रदेश सरकारबाट गराउने उदघोष गरे ।

नरैनापुर गाँउपालिकाका अध्यक्ष एंव मेलाका संरक्षक इस्तियाक अहमद शाहले मजार शरीफ नेपालकै धार्मिक पर्यटकीय क्षेत्र मध्येका एक रहेको बताउदै उहाँले मजार शरीफको विकास संघीय, प्रदेश र स्थानीय तीनै तहको सरकारले लगानी गर्नुपर्ने बताए ।
नरैनापुर १ का अध्यक्ष इसाक जोलाहले भने,” आस्तान ए हजरत खलीफा नूर अहमद शाह मजार बाँकेवासी वा प्रदेशवासीको मात्रै होईन । यो सम्पूर्ण नेपालवासीको गौरव हो । त्यसकारण यसको संरक्षण र प्रबद्र्धन गर्न सकेको खण्डमा मुलुकको आर्थिक तथा पर्यटन विकासमा ठूलो टेवा पुग्छ ।’ उर्समा सहभागी भएका मन्त्री नमूना, तथा राजनीतिकर्मीहरुलाई मजार विकास समितिका पदाधिकारीहरुले स्वागत गरेका थिए । उर्सलाई भव्य बनाउन नेपाल तथा भारतका प्रसिद्ध धार्मिक गुरुहरुलाई प्रवचनको लागि आमन्त्रण गरिएको मजार विकास समितिका संरक्षक रिजवान अहमद शाहले बताए।

उर्समा सहभागी भएका श्रद्धालुहरुको खानेपानी, आवास तथा स्वास्थ्य उपचारको लागि विभिन्न शिविरहरु सञ्चालन गरिएको समितिका सदस्य गुफरान अहमद शाहले बताए । सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र करिव दुई सय स्वयमसेवक परिचालन गरिएको रोज अलि जोलाहले जानकारी दिए । सांस्कृतिक, धार्मिक तथा सामाजिक सदभाव कायम राख्नका लागि यो उर्सको महत्वपूर्ण योगदान रहेको स्थानीयहरु बताउँछन् । मेला नरैनापुर २ का अध्यक्ष एंव मेलाका संरक्षक मसूद अहमद शाह लगायतको सहभागिता रहेको छ ।