४४औँ वी.पी. स्मृति दिवसको अवसरमा ‘साहित्य र पुस्तकालयको अन्तरसम्बन्ध’ विषयक अन्तरक्रिया तथा बहस कार्यक्रम कोहलपुरमा सम्पन्न ।




कोहलपुर, बाँके, साउन ६।

४४औँ वी.पी. स्मृति दिवसको अवसरमा ‘साहित्य र पुस्तकालयको अन्तरसम्बन्ध’ विषयक अन्तरक्रिया तथा बहस कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ। ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुर–११, बाँकेको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।


कार्यक्रमको अध्यक्षता ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष एकराज शर्माले गरेका थिए। अध्यक्ष शर्माले वी.पी. कोइरालाको साहित्यिक योगदानको स्मरण गर्दै पुस्तकालय र साहित्यकारबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले पुस्तकालयले प्रकाशन गर्न लागेको ‘वर्ष–३, अंक–३’ मा समेटिनुपर्ने विषयवस्तुबारे लेखक, साहित्यकार तथा सर्जकसँग सुझाव र बहस आवश्यक रहेको बताए। कोहलपुर, नेपालगञ्ज, खजुरा तथा बाँसगढी क्षेत्रका साहित्यकार र लेखकहरूको सुझावलाई आगामी योजनामा समेटिने प्रतिबद्धता पनि व्यक्त गरे।


कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ राजनीतिक विश्लेषक तथा साहित्यकार नरेन्द्र जंग पिटरले सूचना र ज्ञानका माध्यमहरू परिवर्तन भइरहेका वर्तमान समयमा पुस्तकालयहरूले पठन संस्कृतिको विकासमा नयाँ चुनौती सामना गरिरहेको बताए। उनले पुस्तकालयलाई केवल पुस्तक राख्ने स्थान नभई ज्ञान, बहस र वैचारिक संवादको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। दर्शन, राजनीति, कृषि, संस्कृति र साहित्यजस्ता विषयमा नियमित मन्थन हुने वातावरण पुस्तकालयले सिर्जना गर्नुपर्ने उनको धारणा थियो। उनले वी.पी. कोइरालाको साहित्यमा रहेको वैचारिक गहिराइ र नेपाली साहित्यमा उहाँको योगदानबारे पनि चर्चा गरे।


कार्यक्रममा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा उपप्राध्यापक डा. खोपिराम वलीले ‘वी.पी. कोइरालाको साहित्यिक योगदान’ विषयमा चर्चागर्दै वी.पी.का कृतिमा प्रगतिशील चेतनाले महत्वपूर्ण स्थान पाएको बताए। उनले तीन घुम्ती उपन्यासकी पात्र इन्द्रमायालाई त्यसको सशक्त उदाहरणका रूपमा प्रस्तुत गर्दै वी.पी.लाई नेपाली साहित्यका नवीन प्रयोगकर्ता साहित्यकारका रूपमा व्याख्या गरे।


नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकालले ज्ञानलाई समुदायसम्म पुर्‍याउने सबैभन्दा प्रभावकारी माध्यम पुस्तकालय भएको उल्लेख गर्दै साहित्यिक कृति, दस्तावेज तथा बौद्धिक सम्पदाको संरक्षणमा पुस्तकालयको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले साहित्य र पुस्तकालयबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे।
प्राज्ञ सदस्य तथा त्रिभुवन विश्वविद्यालय महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. हरिप्रसाद तिमिल्सिनाले वी.पी. कोइरालाको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्दै उहाँलाई राजनीतिक परिवर्तनका संवाहक, इमानदार नेता, मनोवैज्ञानिक कथाकार तथा सशक्त उपन्यासकारका रूपमा चित्रण गरे। साहित्यकार र पुस्तकालय एकअर्काका परिपूरक रहेको उनको भनाइ थियो।


कार्यक्रममा भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्रबहादुर बस्नेत, बासगढी सामुदायिक पुस्तकालयका अध्यक्ष बलराम भुजेल, त्रिभुवन सामुदायिक पुस्तकालयका अध्यक्ष यज्ञबहादुर वली, साहित्यकार सागर गैरे, शेखर दहित, हरी सुवेदी, बद्री ढकाल ‘हिरामणी’, वरिष्ठ पत्रकार जे. पाण्डे, दीपकबहादुर शाही हर्कबहादुर शाही स्मृति पुस्तकालयका संरक्षक, विष्णु पादुका, चन्द्रावती अधिकारी, भूपेन्द्र सुवेदी, बलराम काफ्ले, चिन्तामणि घिमिरे, सी.एम. उपाध्याय, कपिल अन्जान लगायत चार दर्जनभन्दा बढी साहित्यकार, लेखक, सर्जक तथा पत्रकारहरूको सहभागिता रहेको थियो।


कार्यक्रमको अन्त्यमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजालले धन्यवाद ज्ञापन गर्दै वी.पी. कोइरालाले नेपाली राजनीति र साहित्यमा पुर्‍याएको विशिष्ट योगदानको स्मरण गरे।
अन्तरक्रियामा सहभागी वक्ताहरूले साहित्य र पुस्तकालयबीचको सम्बन्धलाई ज्ञान उत्पादन, संरक्षण र प्रसारको आधारका रूपमा व्याख्या गर्दै बदलिँदो सूचना–प्रविधिको युगमा पनि पुस्तकालयलाई समाजको बौद्धिक, सांस्कृतिक तथा लोकतान्त्रिक चेतनाको केन्द्रका रूपमा सुदृढ बनाउनुपर्ने साझा निष्कर्ष व्यक्त गरेका थिए।
पुस्तकालयका अध्यक्ष एकराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पुस्तकालयका सहसचिव ईश्वर शर्माले गरेका थिए।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन ६ गते बुधबार