परिवर्तनको मागसहित बाँके–१ बाट दिपक बुढाथोकीको उम्मेदवारी, चुनाव चिन्ह ‘गुलाबको फूल’




कोहलपुर । देशभर परिवर्तनको माग तीव्र बन्दै गएको सन्दर्भमा बाँके निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा (माओवादी केन्द्र) का तर्फबाट दिपक बुढाथोकी औपचारिक रूपमा उम्मेदवारी दर्ता गराउँदै चुनावी मैदानमा उत्रिएका छन्। उनको चुनाव चिन्ह ‘गुलाबको फूल’ रहेको छ।

युवा पुस्ताको चाहना, सल्लाह र आग्रहअनुसार आफू उम्मेदवारी दिएको बताउँदै उम्मेदवार बुढाथोकीले बाँके–१ का युवाहरू, सचेत नागरिक तथा परिवर्तनकामी शक्तिहरूको साझा आवाज प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। परिवर्तनको चाहनासँगै अघि बढेको यस उम्मेदवारीले क्षेत्रमा नयाँ राजनीतिक आशा जगाएको स्थानीयको भनाइ छ।

यस क्षेत्रमा सक्रिय विभिन्न राजनीतिक दलका परिवर्तनकारी कार्यकर्ता, नागरिक समाज तथा जुझारु युवाहरूको सल्लाह, समर्थन र साथ प्राप्त भएकाले आफ्नो जित सुनिश्चित रहेको दाबी उम्मेदवार बुढाथोकीले गरेका छन्।

उनले हरेक परिस्थितिमा जनतासँगै रहेर समस्या पहिचान र समाधानमा केन्द्रित रहने विश्वास दिलाएका छन्।
“जनताले जिम्मेवारी दिनुभयो भने उहाँहरूको आशा र अपेक्षालाई व्यवहारमा उतार्नेछु,” भन्दै उम्मेदवार बुढाथोकीले पारदर्शी, जवाफदेही र जनमुखी राजनीतिप्रति आफू दृढ रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

बढ्दो युवा सहभागिता र परिवर्तनको तीव्र मागका बीच गुलाबको फूल चुनाव चिन्हसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका दिपक बुढाथोकी बाँके–१ को राजनीतिक समीकरणमा महत्वपूर्ण पात्रका रूपमा देखिन थालेका छन्।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार