मध्यपश्चिम विश्वविद्यालयद्वार्क्क पांछ वर्षे रणनीतिक योजना निर्माण सम्बन्धि मस्यौदा लेखन कार्यदलसंग वैठक सम्पन्न




सुदाम शर्मा, सुर्खेत

मध्यपश्चिम विश्वविद्यालयद्वारा पाँच वर्षे रणनीतिक योजना निर्माण सम्बन्धी मस्यौदा लेखन कार्यदलसँग बैठक सम्पन्न गरेको छ ।विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयले पाँच वर्षे रणनीतिक योजना निर्माण प्रक्रियालाई टुंगोमा पुर्‍याउने उद्देश्यले वुधवार वीरेन्द्रनगर, सुर्खेतमा मस्यौदा लेखन कार्यदलसँग विशेष बैठक सम्पन्न गरेको हो ।


मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवम् पाँच वर्षे रणनीतिक योजना निर्माण समितिका संयोजक डा. विष्णुकुमार खड्काको अध्यक्षतामा मध्यपश्चिम विश्वविद्यालय पाँच वर्षे रणनीतिक योजना मस्यौदा लेखन कार्यदलसँगको बैठक सम्पन्न भएको हो।
बैठकलाई सम्बोधन गर्दै  कार्यकारी निर्देशक डा. खड्काले शृङ्खलाबद्द रुपमा विभिन्न सातवटा विषयगत कार्यदलको बैठक सम्पन्न गरेपश्चात् प्राप्त पृष्ठपोषण एवम् विश्वविद्यालय नेतृत्वको दृष्टिकोणलाई समेत समाविष्ट गरी समयानुकूल मस्यौदा लेख्नका लागि मस्यौदा लेखन कार्यदलसँगको बसाई अर्थपूर्ण रहने विश्वास व्यक्त गरे । उनले सरोकारवाला सबैसँग आवश्यक समन्वय गरी मस्यौदा लेखन प्रक्रियालाई छिटोछरितो प्रभावकारी रूपमा सम्पन्न गरी विश्वविद्यालयको भावी मार्गचित्र स्पष्ट पार्न विज्ञ टीमलाई अनुरोध गरे ।


बैठकमा विश्वविद्यालय योजना परिषद्का विज्ञ सदस्य समेत रहेका मस्यौदा लेखन कार्यदलका संयोजक प्रा. डा. चन्द्रप्रसाद रिजाल सहित उक्त कार्यदलका सदस्यहरु पूर्व रजिष्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेल, सहप्रा. डा. अमृतकुमार शर्मा गैरे, डा. सुशीलकुमार शाही, डा. रेशमबहादुर विष्ट, रामप्रसाद कँडेल, नारायणप्रसाद कँडेल र आमन्त्रित वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका क्याम्प प्रमुख  प्रमुख दानबहादुर हमाल र विद्यापुर जनता बहुमुखी क्याम्पसका चन्द्रप्रसाद पौड्यालको उपस्थिति रहेको थियो ।
बैठकमा सहभागी मस्यौदा लेखन कार्यदलका संयोजक प्रा. डा. रिजाल र उपस्थित सबै सदस्यहरुले आ-आफ्नो धारणा राख्दै व्यवहारिक, वस्तुवादी एवम् प्रयोगयोग्य योजना निर्माणका पक्षमा वकालत गरेका थिए । बैठकमा संयोजक प्रा. डा. रिजालले गठित विभिन्न कार्यदलका सुझावहरुलाई योजनामा एकीकृत गर्नुका साथै सबैखाले अनुभव एवम् जानकारीलाई कच्चापदार्थका रुपमा लिएर प्रशोधन गरिने बताए ।
यसैगरी कार्यदलका सदस्य पूर्व रजिष्ट्रार प्रा. डा. पौडेलले मध्यपश्चिम विश्वविद्यालयले अगामी पाँच वर्षका लागि शिक्षा, अनुसन्धान, पूर्वाधार, सेवा प्रवाह, अन्तरराष्ट्रिय सम्बन्ध विस्तार तथा सहकार्यका विविध क्षेत्रहरूलाई प्राथमिकतामा राख्दै रणनीतिक योजना तयार पार्ने स्पिरिटमा अघि बढेकाले सबैको सकारात्मक साथ, सहयोग एवम् प्रयास आवश्यक रहेको बताए । उक्त बैठक लाई मस्यौदा लेखन कार्यदलका सदस्य समेत रहेका  विश्वविद्यालयका सूचना अधिकारी एवम् निर्देशनालयका प्रशासन प्रमुख शेरबहादुर केसीले सहजीकरण गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ मंसिर १७ गते बुधबार