८ महिनादेखि बाँके र बर्दियाका किसानले दुग्धको पैसा पाएनन्, दुग्ध सहकारी संघले आयोजनालाई बुझायो ज्ञापन पत्र




कोहलपुर । बाँके र बर्दियाका किसानहरुले विगत ८ महिनादेखि दुग्धको रकम नपाएपछि जिल्ला दुग्ध उत्पादन सहकारी संघले आयोजनालाई ज्ञापन पत्र बुझाएका छन् ।

आइतबार नेपालगञ्ज दुग्ध वितरण आयोजना बाँकेलाई संयुक्त रुपमा बाँके र बर्दियाको दुग्ध उत्पादन सहकारी संघले आयोजनाका प्रमुख दिलिप चौधरीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन बुझाउँदै दुग्ध उत्पादन सहकारी संघका केन्द्रिय सदस्य तथा आन्दोलन कार्यक्रमका संयोजक इन्द्र प्रसाद लुईटेलले असार मसान्तसम्मको किसानहरुले पाउनुपर्ने दुग्धको बक्यौत्ता रकम तत्काल खातामा जानुपर्नेमा जोड दिएका थिए ।

उनका अनुसार किसानका जायज मागहरु पुरा नभए आन्दोलनले अन्तिम रुप लिने बताउँदै किसानले आफ्नो पसिना बगाएर कमाएको रकम लिन राज्यसंग लड्नु राम्रो विषय नभएको बताए ।

‘कृषकलाई व्यवसायीक रुपमा लिनुपर्छ, सरकारले नयाँ नयाँ कार्यक्रम घोषणा गर्ने तर किसानले भने विहानदेखि साँझसम्म भैसी, गाईको गोठमा गरेको संघर्ष र बगाएको पसिनाको मुल्य चुकाउन सकेको छैन’ उनले भने,‘कृषकको आन्दोलनलाई हल्का रुपमा नलिईयोस् ।’

१ लिटर दुग्ध विक्रि गर्नेदेखि २५ हजार लिटर दुग्ध विक्रि वितरण गर्ने किसानहरुलाई सडकमा ल्याउँदाको परिमाणले देशको अवस्था निकै संकटपूर्ण आउनसक्ने दुग्ध उत्पादन सहकारी संघका केन्द्रिय सदस्य तथा आन्दोलन कार्यक्रमका संयोजक लुईटेलले बताए ।

यस्तै बर्दिया जिल्ला दुग्ध उत्पादन सहकारी संघका अध्यक्ष पवन कुमार यादवले केन्द्रिय सकुलर र बर्दिया जिल्लाको सहकारी र किसानहरुले पाउनुपर्ने रकमको बारेमा आयोजनालाई जानकारी गराएका थिए ।

बाँके दुग्ध उत्पादन सहकारी संघका अध्यक्ष पूर्ण प्रसाद अधिकारीले दुग्ध उत्पादन गर्ने किसानहरुलाई रकम दिइरहेको र सो दुग्ध सहकारीले डिडिसीलाई दिने गरेको बताए ।

‘डिडिसीलाई दिएको दुग्धको रकम सहकारीलाई दिनुपर्दैन,’ उनले भने,‘ डिडिसीले कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, चितवन र पोखरासम्म विक्रि वितरण गरिरहेको होला ।’ अघिल्लो कार्यकालका आयोजनाका प्रमुखहरुले १५/१५ दिनमा किसानको दुग्धको मुल्य दिनुहुन्र्थो तर अहिले कसरी समस्या आयो ? यसको जवाफ चाहियो भन्दै आक्रोस पोखेका थिए ।

‘राज्यले दुग्ध उत्पादन गर्ने किसानहरु सौतेनी व्यवहार आमाका छोराछोरी जस्तो गर्ने हो,’ अधिकारीले थपे,‘ सरकारसंग जोड्दार माग गर्र्र्दै किसानको रकम अविलम्ब झुक्तानी होस् ।’ किसानहरुले स्वदेशमै बसेर दुग्ध र दुग्धजन्य पदार्थ विक्रि वितरण गरी स्वरोजगार बनाउनेतर्फ राज्यले लिनुपर्ने उनको भनाई थियो ।

यस्तै नेपालगञ्ज दुग्ध वितरण आयोजना बाँकेका प्रमुख दिलिप चौधरीले दुग्ध उत्पादन गर्ने किसानहरुका माग पुरा गर्ने केन्द्रसंग तत्काल समन्वय गरी रकम भुक्तानी गर्ने बताए । आयोजनाले दुग्ध खरिद गरी विक्रिवितरण गरेको राजस्व संकलन गरी केन्द्रको खातामा जम्मा हुने र केन्द्रबाट आएको रकम मात्र किसानहरुलाई दिने गरेको बताए ।

ज्ञापन पत्र

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ १५ गते आइतबार