काेहलपुर । भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारको उद्धार र राहतका लागि कोहलपुर नगरपालिका ३ मदनचोकस्थित कोहलपुर बागेश्वरी ई.मि. स्कुलले २ लाख ७३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
विद्यालयले संकलन गरेको उक्त रकम नेशनल प्याब्सन बाँकेका अध्यक्ष चिरञ्जीवी चन्दलाई चेकमार्फत हस्तान्तरण गरेको हो । विद्यालयका अनुसार प्राप्त रकम नेशनल प्याब्सन बाँकेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।
विद्यालयका संस्थापक विष्णु के.सी.ले प्राकृतिक विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु विद्यालयको सामाजिक दायित्व भएको बताए । उनका अनुसार विपद्का बेला पीडितको पक्षमा उभिनु मानवीय कर्तव्य भएको उल्लेख गर्दै विद्यालयले आफ्नो क्षमताअनुसार सहयोगलाई निरन्तरता दिँदै आएको बताए ।
“प्राकृतिक विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु हामी सबैको साझा दायित्व हो । भोटेकोशी बाढीपहिरोबाट प्रभावित परिवारको पीडामा केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेका हौँ,” उनले भने, “आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यमा विद्यालयको साथ र सहयोग निरन्तर रहनेछ ।”
विद्यालयले शिक्षा प्रदान गर्ने जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवामा समेत आफ्नो भूमिका निर्वाह गर्दै आएको जनाएको छ । विपद्को समयमा समुदायसँग ऐक्यबद्धता जनाउँदै राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयले यसपटक पनि भोटेकोशी बाढीपहिरो पीडितका लागि उल्लेख्य रकम सहयोग गरेको हो ।
भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, विद्यालय, निजी क्षेत्र तथा सामाजिक अभियन्ताहरूले सहयोग जुटाइरहेका छन् । सोही अभियानमा ऐक्यबद्धता जनाउँदै बागेश्वरी ई.मि. स्कुलले २ लाख ७३ हजार रुपैयाँ सहयोग गरेको हो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्