फाइनल प्रवेशका लागि भिड्दै जनकपुर र कर्णाली




सुदूरपश्चिम रोयल्स् एनपीएलको फाइलनमा पुगिसकेको छ। बुधबार जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको थियो। फाइनलमा पुग्ने दोस्रो टोलीका लागि आज जनकपुर र कर्णालीको प्रतिस्पर्धा नहुन लागेको हो।

पछिल्लो पाँच खेलमा हेर्दा जनकपुरभन्दा कर्णाली बलियो देखिएको छ। जनकपुरले खेलेका पछिल्ला पाँच खेलमा दुई खेल जितेको छ भने तीन खेल हारेको छ।

जनकपुर पहिलो क्वालिफायरमा बुधबार सुदूरपश्चिमसँग पराजित भएको थियो। त्यस्तै, एनपीएलको समूह चरणमा चितवन र सुदूरपश्चिमसँगै पराजित भएको थियो।

लिग चरणको शुरुआतमा राम्रो प्रदर्शन गरेको जनकपुरले अन्तिम चरणमा भने लय समात्न सकेको थिएन। कप्तान अनिल साह घाइते भएपछि कमजोर देखिएको छ।

कर्णालीले भने पछिल्ला पाँचमध्ये चार खेल जितेको छ। बुधबार भएको इलिमिनेटरमा चितवनलाई पराजित गरेर दोस्रो क्वालिफायरमा पुगेको हो। कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको थियो।

समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो। तथापि, रनरेटका आधारमा काठमाडौलाई पछि पार्दै प्लेअफमा पुगेको थियो। त्यसअघिका तीन खेल लगातार जितेको थियो।

फाइनल प्रवेशका लागि आज जनकपुरसँग प्रतिस्पर्धा गर्दा पनि कर्णाली उच्च मनोलबलसहित मैदानमा उत्रिनेछ। जनकपुरलाई भने पछिल्ला दुई खेल लगातार हारेकाले मनोबल उच्च बनाउन गाह्रो हुनेछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदनमा आज मध्याह्न १२:३० बजे जनकपुर र कर्णालीको खेल हुँदै छ। विजेता टोली उपाधिका लागि शनिबार सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस ४ गते बिहीबार