कोहलपुर १ का ९१ जनालाई लालपूर्जा वितरण, उत्साहित वडाबासी




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १ बासीलाई जग्गा धनि प्रमाण पत्र (लालपूर्जा) वितरण गरिएको छ ।

शनिबार एक विषेश र ऐतिहासिक कार्यक्रमका विच कोहलपुर नगरपालिका वडा नं. १ का १ सय १२ जनाको लालपुर्जा मध्ये ९१ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई पहिलो चरणमा जग्गाधनी लालपूर्जा वितरण गरिएको हो ।

यस्तै संघिय सरकारका भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलाराम अधिकारीको प्रमुख आतिथ्यता तथा भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालको अध्यक्षतामा कोहलपुर १ बासीलाई जग्गा धनि प्रमाण पत्र (लालपूर्जा) वितरण गरिएको थियो ।

भूमिहीन दलित तथा सुकुम्बासीले वर्षौंदेखि जोतभोग गर्दै आएका थिए तर उनीहरुले कानूनी रुपमा जग्गाको मालिक बन्न पाएका थिएनन् ।

विगतदेखि राजनितिक दलहरुले लालपूर्जाको एक मात्र प्रमुख एजेण्टा लिएर उम्मेदवार बन्ने गथ्र्ये तर अहिले पुरा गरेका छन् ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा विभागिय मन्त्री अधिकारीले लुम्बिनी प्रदेशमै पहिलो तथा देशभरका ७ सय ५३ पालिकामध्ये चौथो कोहलपुर नगरपालिका लालपूर्जा वितरण गर्न सफल भएको बताए । यसलाई आफूले सकारात्मक भएको र अन्य पालिकालाई पनि प्रेरणादायी हुने उनको विश्वास थियो ।

यस्तै कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले यो ऐतिहासिक कार्यमा आफ्नो टिम र कार्यापालिकालाई विश्वास गरिदिनुभएको भन्दै सम्पूर्णप्रति कोहलपुर नगरपालिकाले कृतज्ञता व्यक्त गरे ।

आचार्यले नेपाल सरकार, राजनीतिक दल, भूमि आयोग, स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, सर्वसाधारण लगायत सबैको समन्वयले यो उपलब्धि सम्भव भएको बताए ।

‘अब कोहलपुरका सबै वडामा लालपूर्जा वितरण हुन्छ ढुक्क हुनुहोस्,’ आचार्यले भने, ‘पहिलो चरणमा कोहलपुर १ बाट सुरु गरिसकेका छौं ।’ तपाईहरुलाई चुनावमा गरेका बाचाहरु पुरा गर्ने बेला आएको र सो समयको सदुपयोग गरेको आचार्य बताउँछन् ।

आचार्यले विशेष रूपमा भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनाल, प्रदेश, संघका माननिय सभासद् ज्यूहरु लगायत अन्य सबै व्यक्तित्वजनलाई धन्यवाद ज्ञापन गरेका थिए ।

यस्तै भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले भुमिहिन दलित, भुमिहिन सुकुम्वासीहरुलाई लालपुर्जा प्राप्ति गर्दा रु २५ को निवेदन शुल्क वाहेक अन्य कुनै राजश्व नलिएको बताए । अन्यको सन्दर्भमा जग्गा वर्गीकरणका आधारमा शहरभित्र १५ प्रतिशत, शहरउन्मुखभित्र १० प्रतिशत र कृर्षि तथा खेतियोग्य जमिनमा पर्ने जग्गावालाहरुले ५ प्रतिशत राजश्व बुझाउनुपर्ने प्रावधान रहेको बताए ।

यस्तै प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना, आयोगका केन्द्रिय अध्यक्ष हरि प्रसाद रिजाल, संघिय सांसद सुर्य ढकाल, प्रदेश सांसदहरु दुर्गा प्रसाद चौधरी, सञ्जु चौधरी, वसन्ति अधिकारी, नगर प्रमुख पुर्ण प्रसाद आचार्य, नगर उप प्रमुख संगिता सुवेदी, कोहलपुर नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, पुर्व नगर प्रमुख लुट वहादुर रावत, नेपाली काग्रेस बाँके सभापति नारायण गौडेल, नेकपा एमाले जिल्ला अध्यक्ष निरक गुरुङ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र पाण्डे, रास्वपाका राजेन्द्र श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टिका केन्द्रिय सदस्य सुरेश चौधरी, भुमिहिन दलित, सुकुमवासी लगाएत जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रमको सञ्चालन कोहलपुर नगरपालिकाका प्रेस संयोजक प्रिया स्मृति ढकालले गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ वैशाख २० गते शनिबार