Kohalpur Today Header Ads

विपन्न परिवारलाई ५२ वटा घर बनाइदिँदै राप्तीसोनारी




राप्ती सोनारी।

आर्थिक स्थिति कमजोर भएका सर्वसाधारण नागरिकका लागि बाँकेको राप्ती सोनारी गाउँपालिकाले घर बनाइदिन थालेपछि त्यस्ता समुदायका नागरिकहरुले नयाँ घर पाउने भएका छन् ।

विशेष अनुदान अन्तर्गत राप्तीसोनारी गाउँपालिकाले विपन्न आवास कार्यक्रममार्फत् लक्षित समुदायको छनौट गरी उनीहरुलाई नयाँ घर बनाइदिन सुरु गरेको हो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

आर्थिकरूपले विपन्न समुदायका मानिसहरूलाई नयाँ घर बनाइदिएर जेठ मसान्तभित्र हस्तान्तरण गर्ने कार्यक्रम छ । राप्तीसोनारी गाउँपालिका वडा नं ८ धरमोतीकी गंगा विकलाई नयाँ घर पाउने भएपछि खुसीको सीमा छैन ।

उनको परिवार अहिले धरमोतीमा कोठा भाडामा लिएर बस्दै आएको छ । टिनको छानो भएको तर सिमेन्टको खम्बा ठड्याएको दुई कोठाको घरमा बस्न पाउने भएपछि गंगाको मुहारमा छुट्टै खुसी झल्किन्थ्यो । गाउँपालिकाले दुई कोठे पककी घर बनाइदिने भएपछि उनले वर्षौदेखि अर्कैको घरमा कोठा भाडामा लिएर बस्नु पर्ने बाध्यताको अन्त्य हुनेछ ।

‘सम्पतीको नाममा १२ धुर जग्गा छ । सासु आमा क्यान्सर पीडित हुनुहुन्छ । श्रीमानको मजदुरीले साँझ विहानको जोहो टरेको छ उनी अगाडि भन्छिन्–‘भाडामा बस्दा कोठा विजुली वत्ती गरेर महिनाको दुई हजार खर्च हुन्छ । आफ्नै घर हुने भएपछि त्यो दुई हजार पनि बचत हुने भयो । आफ्नै घरमा बस्ने सपना पनि पूरा हुने भयो ।’

गंगा जस्तै घर नभएर अरुको घरमा बस्नु पर्ने बाध्यता भएका परिवार र साँघुरो, होचो, फुसको छानो अनि बाँसको बेरा भएको घरमा बस्दै आएका विपन्न समुदायलाई प्राथमिकतामा राखेर पालिकाले घर बनाइदिन थालेको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताए । गंगा विकको घरको शिलान्यस गर्दै गाउँपालिकाका अध्यक्ष पौडेलले पालिकामा विपन्न आवास कार्यक्रम सुरु भएको बताए ।

उनले संबिधानप्रदत आवास पाउनुपर्ने नागरिकको हकलाई पालिकाले कार्यान्वयन गरेको बताए । चालु आर्थिक वर्षमा गंगा विकलाई जस्तै ५२ वटा घर गाउँपालिकाले बनाइदिन थालेको अध्यक्ष पौडेलले बताए । उनले भने–‘यो वर्ष हामीले ५२ वटा घर बनाउँदैछौं ।

यो हाम्रो आफ्नै कार्यक्रम हो तर केन्द्र सरकारको सहयोग छ ।’ विपन्न र आयस्तर कमजोर भएका परिवारको पहिचान गरेर विपन्न आवास कार्यक्रम कार्यान्वयनमा ल्याइएको उनले बताए । नयाँ घर पाउनेहरुमा आदिवासी, दलित तथा पिछडिएका समुदायका परिवारहरु रहेको गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले बताइन् ।

उनले घरहरु गुणस्तरीय र भरपर्दो बनाउन निर्माणको जिम्मा पाएका ठेकेदारलाई निर्देशन समेत दिइन् । गाउँपालिकाका असिस्टेन्ट प्राविधिक दुर्गा केसीले चालू आर्थिक वर्षमा ९ वटै वडामा ५२ वटा घर बनाउन लागिएको बताए । उनले विशेष अनुदानको २ करोड ८० लाखको लागतमा घरहरु निर्माण गरिने बताए । एउटा घरको लागत ५ लाख ३७ हजार ५५५ रुपैयाँ रहेको उनले बताए ।

त्यसमा ब्रण्डा, दुई वटा पक्की कोठा र छानो जस्ता पाताको हुनेछ । शौचालय पनि त्यसैबाट निर्माण गरिनेछ । तर शौचालयको सेफ्टी ट्यांकी भने घरधनीले बनाउनुपर्ने उनले बताए । आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने गरी भवरभवानी निर्माण सेवा र सौगात कन्ट्रक्सन ठाकुरबाबा बर्दियाले घर निर्माणको ठेक्का लिएका छन् ।

भवरभवानीले २१ वटा र सौगातले ३१ वटा घर बनाउनेछन् । सौगातले वडा नं.३, ४, ५, ६ र ७ मा ३१ वटा र भवरभवानीले वडा नं.१, २, ८ र ९ मा २१ वटा घर बनाउने सम्झौता छ । भवरभवानी निर्माण सेवाका संचालक सुरेन्द्र पौडेलले सम्झौता अवधिमै घरहरु निर्माण गरेर हस्तान्तरण गरिने प्रतिवद्धता जनाए । उनले भने–‘गाउँपालिकासँग भएको सम्झौताअनुसार निर्माण सकेर जेठ मसान्तभित्र सबै घर हस्तान्तरण गछौं । गुणस्तरीयतामा कुनै सम्झौता हुदैन् ।’

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ मंसिर ७ गते शुक्रबार