कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाको नगर अस्पतालमा स्वास्थ्य बीमा आजबाट सुरु भएको छ ।
भदौं १ गतेबाट सेवा दिने तयारीका साथ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साउन २५ गते कोहलपुर नगर अस्पतालमा बीमा कार्यक्रम उद्घाटन गरेका थिए । प्राविधिक कठिनाईका कारण केही ढिला गरी सेवा सुरु भएको कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले बताए ।
कोहलपुर नगरपालिकाको लागि बहुप्रतिक्षित कार्यक्रम, बिमितहरुको समस्यालाई ध्यानमा राख्दै, बनकटवा लगायत अन्य अस्पतालमा रेफरलका लागि जानुपर्ने बाध्यताको अव अन्त्य हुने विश्वास गरिएको शाखा प्रमुख ठकुरीले बताए । सेवा सुरु भएको पहिलो दिन विहीबार पाँच जनाले सेवा लिएको कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले बताए ।
यस्तै कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीले आजबाट पाँच जनाले सेवा लिई स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको बताए ।
‘कोहलपुरबाट सेवा दिन पाउँदा निकै खुसी भएका छौं’ उनले भने, ‘यो सेवालाई गुणस्तरीय र प्रभावकारी रुपमा सञ्चालन हुनेछ ।’ स्वास्थ्य बीमा कार्यक्रममा कोहलपुर, बैजनाथ, राप्तीसोनारी र अन्य पालिकाबासीहरुलाई समेत सेवा लिन कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गिरीले आग्रह समेत गरे ।
यस्तै कोहलपुर नगरपालिकाले लामो समयदेखि गरिरहेको प्रयासले सार्थकता पाएको भन्दै कार्यबाहक नगर प्रमुख संगिता सुवेदीले खुसी व्यक्त गरिन् ।
उनले स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम स्वास्थ्य बीमा कार्यक्रम रहेको उनको भनाइ छ ।
स्वास्थ्य बीमा बोर्डको नमुना स्थानीय तह घोषणा कार्यविधि–२०७८ ले निर्देशित गरेका सम्पूर्ण मापदण्ड पूरा गर्दै कोहलपुर नगरपालिकाले नगर अस्पतालबाट बीमा कार्यक्रम सुरु गरिएको उनको भनाइ छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्