सल्यानकाे कुमाख गाउँपालिकामा यूवाहरूद्वारा तालाबन्दी




सल्यान ।

सल्यानकाे कुमाख गाउँपालिकामा यूवाहरूले तालाबन्दी गरेका छन् ।

अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नियमित सेवा र कार्य सम्पादन कानुनको अधिनमा रही छिटोछरितो हुनुपर्नेमा झन्झटिलो र स्वेच्छाचारी ढंगले गर्ने गरेको एवं अध्यक्ष तथा उपाध्यक्षलाई बुझाएको ध्यानाकर्षणका विषयमा बेवास्ता गरेको भन्दै युवाहरूले आइतबार दिउँसो तालाबन्दी गरेका हुन् ।

युवाहरूले पालिकाले दिने सेवामा लापरबाही गरेको भन्दै नाराबाजीसमेत गरेका थिए । तालाबन्दी गरेका युवाहरूले कार्यालयको कार्यकक्षबाट कर्मचारीलाई बाहिर निकाली केही बेर सेवासमेत अवरुद्ध गरे ।

निष्पक्ष र प्रभावकारी सेवा नदिएको र आफूहरूले राखेका माग पूरा नगरेकाले युवाहरूले अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएको युवराज खड्गाले बताए । माग पूरा नहुँदासम्म ताला नखोल्ने पनि उनले बताए ।

३०/४० जनाको समूहमा आएका युवाहरूले पालिकाको गेटमै ताला लगाएको र प्रहरीले ताला तोडेपछि कार्यालयमा प्रवेश गरी अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए । प्रहरीको टोलीले कार्यालयको सेवा भने सुचारु गराएको उनले जानकारी गराए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत छविलाल खड्काले केही युवाले केही कार्यक्रमको प्रस्ताव राखेका र तोकेको समयमा गाउँसभा हुन नसक्दा मागको कार्यान्वयनमा ढिलाइ भएका कारण आवेशमा आएर तालाबन्दी गरेको हुन सक्ने बताए ।

युवाहरूले राखेको मागको विषयमा सोमबार छलफलमा बस्ने सहमति भएको उनले जानकारी गराए । युवाहरूले कर्मचारीलाई अभद्र व्यवहार गरेकाले जिल्ला प्रशासन कार्यालय सल्यानमा उजुरीसमेत दिएको उनको भनाइ छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमबार