सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्। बिहीबार दिउँसो १२ बजे बसेको प्रदेश सभा बैठकबाट उनलाई २८ जना सासंदले विश्वासको मत दिएका हुन् ।
सभामुख भीम भण्डारीले सदमा मत विभाजनको नतिजा सुनाउँदै बैठकमा उपस्थित सांसदको संख्या २८ रहेको बताए। जसमध्ये विश्वासको मतको पक्षमा २८, विपक्षमा शून्य र तटस्थमा शून्य मत परेको जानकारी दिएका थिए।
नेकमा माओवादीका १०, एमालेका ११, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसदले उनलाई विश्वासको मत दिए । त्यसअघि नाराबाजीकै बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वास मत सम्बन्धी प्रस्ताव सदन समक्ष पेस गरेका थिए ।
बैठक सुरू हुनासाथ मुख्यमन्त्रीमा सोडारीको नियुक्त गैरसंवैधानिक भएको भन्दै कांग्रेस र नागरिक उन्मुक्तिका पाँच जना सांसदले नाराबाजी गरेका थिए। नाराबाजीकै बीच मुख्यमन्त्री पक्ष र विपक्षमा विश्वासको मत विभाजन गर्न सभामुख भीम भण्डारीले हस्ताक्षरका लागि समय दिएका थिए। त्यसपछि कांग्रेस नागरिक उन्मुक्ति र एक जना राप्रपाका सांसद बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।
प्रतिक्रिया दिनुहोस्