माओवादी घटकबिच एकता गर्ने र ०८४ को निर्वाचनमा भाग लिने विप्लवको निर्णय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले माओवादी घटकबिच पार्टी एकता र आगामी निर्वाचन उपयोग गर्ने नीति अघि सारेको छ । केन्द्रीय कार्यालय कपिलवस्तुको शिवगढीमा वैशाखको पहिलो साता सम्पन्न केन्द्रीय समिति बैठकले यस विषयमा महत्त्वपूर्ण निर्णय गरेको महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जानकारी दिएका छन् ।

देशको अवस्था निकै तरल र गम्भीर मोडमा रहेको विश्लेषण गर्दै उनले वामपन्थीबिच फराकिलो मोर्चा निर्माण गर्न विचार मिल्नेसँग एकता गर्दै जाने गरी बैठकले निर्णय गरेको जानकारी दिए ।

‘विचार मिल्नेसँग एकता गर्दै जानुपर्छ । त्यसका लागि पहिला माओवादी धारसँग एकताबद्ध हुनेगरी पार्टीले पहल गर्ने, त्यसपछि सबै कम्युनिस्ट पार्टीसँग पनि एउटै कम्युनिस्ट आन्दोलन निर्माण गर्न सकिन्छ कि भन्नेमा बहस गर्ने । त्यति अहिले गर्न नसके स्वाधीनताका रक्षाका लागि एउटा वृहत् कम्युनिस्ट मोर्चा वा वाम मोर्चा वा समाजवादी मोर्चा बनाउन मेहनत गर्नुपर्छ भन्ने विषयमा बैठकले निर्णय गरेको छ’, बैठकको निर्णयबारे जानकारी दिँदै मंगलबार उनले भने ।