राजनीतिक दलको पदाधिकारी बनेका प्रधानाध्यापक र क्याम्पस प्रमुखलाई कारबाहीको प्रक्रिया अघि बढ्यो

विराटनगर ।

राजनीतिक दलको पदाधिकारी बनेका प्रधानाध्यापक र क्याम्पस प्रमुखमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । यसको सुरुवात संखुवासभाबाट भएको हो ।

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले बहालवाला शिक्षक राजनीतिक दलको सदस्य भएको दाबीसहित कारबाहीका लागि दिएको उजुरीमाथि जिल्ला समन्वय समिति संखुवासभाले प्रक्रिया अघि बढाएको हो ।

नेकपा एमाले संखुवासभाको हालै सम्पन्न जिल्ला अधिवेशनबाट मादी माध्यमिक विद्यालयका प्रधानाध्यापक शान्तिकुमार दाहाल उपाध्यक्ष र रामेश्वर माध्यमिक विद्यालय तथा रामेश्वर क्याम्पसका प्रमुख मदनबहादुर खत्री सदस्यमा निर्वाचित भएका थिए ।

यस लगत्तै परिषद्ले उनीहरुमाथि कारबाहीको माग गर्दै उजुरी दिएको थियो । जिल्ला समन्वय समिति संखुवासभाले नेकपा एमाले जिल्ला कमिटी संखुवासभालाई यस विषयमा जानकारी दिन भनेको छ । शिक्षा ऐन, २०२८ मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा निजलाई पदबाट हटाउने व्यवस्था छ ।

साथै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा २ (ग) मा राजनीतिक दलको सदस्यता वितरण गर्दा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको व्यक्ति हुनुपर्ने व्यवस्था छ ।