कोहपलुरमा भोलीदेखि २५ गतेसम्म दादुरा–रुवेला विरुद्धको खोप लगाइने




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा भोलीदेखि दादुरा रुवेला विरुद्धको खोप लगाइने भएको छ । कोहलपुर नगर स्वास्थ्य कार्यालयले वडा अध्यक्षहरुसंगको समन्वयमा वडामा भएका विद्यालयहरुमा भोलीदेखि दादुरा रुवेला विरुद्धको खोप लगाइने भएको हो ।

यस्तै कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले दादुरा रुवेला विरुद्धको खोप लगाउन आग्रह गरेकी छिन् । भोलीदेखि सुरु हुन लागेको दादुरा रुवेला विरुद्धको खोप अभियानमा सम्पूर्ण कोहलपुर नगरबासीहरुले साथ, सहयोग गर्न अनुरोध गरेकी हुन् ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले कोहलपुर नगरपालिका भित्र रहेका कक्षा १ देखि १० कक्षासम्मका बालबालिकालाई भोलीदेखि २५ गतेसम्म दादुरा रुवेला विरुद्धको खोप लगाउने बताए । कोहलपुर नगरपालिका भित्रका विद्यालयहरुमा पहिलो प्राथमिकता राखी अभियान सुरु भएको ढकालले बताए ।

कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख अनिल सेन ठकुरीले ९ महिनादेखि १५ महिनासम्मका बालबालिकालाई समेत खोप लगाउने बताए ।

सेनले खोपबाट बचाउन सकिने रोग नियन्त्रण गर्नु तथा अपाङ्गता र मृत्युदरलाई कम मुख्य उद्देश्य रहेको बताउँदै उनले खोपबाट बचाउन सकिने रोगहरुको निवारण र उन्मुलनको लक्ष्य हासिल गर्ने कार्यलाई तिब्रता दिई दिगोपन कायम राख्ने बताए ।

उनका अनुसार सन् २०१० देखि पोलियो शुन्य अवस्था कायम भएकोलाई निरन्तरता दिई सन् २०२६ सम्ममा पोलियो रोग उन्मूलन गर्ने बताए ।

यस्तै सन् २००५ देखि नवशिशु धनुष्टंकार रोग निवारण भएको अवस्थालाई कायम राख्ने र सन् २०२६ सम्ममा दादुरा–रुबेला रोग निवारण गर्ने उद्देश्य रहेको बताउँदै बालबालिकालाई पूर्ण खोप लगाएको सुनिश्चित गर्ने नगर स्वास्थ्य शाखाका प्रमुख ठकुरीले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० फागुन १२ गते शनिबार