लुम्बिनी प्रदेशमै सबैभन्दा कम विद्युत चुहावट कोहलपुरमा




कोहलपुर ।

लुम्बिनी प्रदेशमै सबैभन्दा कम विद्युत चुहावट कोहलपुरमा रहेको नेपाल विद्युत् प्राधिकरणले प्रकाशन गरेको प्रतिवेदन देखाएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रकाशन गरेको प्रतिवेदनअनुसार तौलिहवामा १९.५५ प्रतिशत छ भने कोहलपुरमा ३.२७ प्रतिशत छ ।

लुम्बिनी प्रदेशअन्तर्गतको डिभिजन कार्यालय अन्तर्गत भने १० वटा वितरण केन्द्र छन् । यो डिभिजन अन्तर्गत समग्र विद्युत चुहावट ८.५९ प्रतिशत छ । वार्षिक ६ अर्ब १२ करोड रुपैयाँ आम्दानी भएको थियो ।

ऊर्जा खपत, विद्युत् बिक्री आय र ग्राहक संख्याका आधारमा बागमती र मधेस प्रदेशपछि उच्च रहेको लुम्बिनीमा समग्र प्रदेशको विद्युत् चुहावट भने ७.६७ प्रतिशत छ ।

लुम्बिनी प्रदेशअन्तर्गत ११ वटा वितरण केन्द्र र ५ लाख ५१ हजार ८ सय ३६ ग्राहक संख्या छ । यो प्रदेशमा प्राधिकरणले आव २०८०÷८१ मा वार्षिक १३ अर्ब ९१ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख हरिप्रसाद पाण्डेले तराईको दक्षिणी भेगमा औद्योगिक ग्राहक कम रहेका कारण प्राविधिक चुहावट उच्च रहेको बताए ।

ती क्षेत्रमा ३३ केभीको वितरण लाइन एउटा बुटबलदेखि गएको र अर्को चनौटाबाट लगिएकाले लामो भएको र लामो लाइनमा चुहावट धेरै हुने पाण्डेले बताए ।

‘यी क्षेत्रमा विद्युतका संरचना पनि धेरै पुराना छन्, ग्राहक बढेको बढ्यै छन्,’ पाण्डेले भने, ‘अलिअलि चुहावट (चोरी) पनि छ ।’ डिभिजनअन्तर्गतका वितरण केन्द्रको वितरण चुहावटतर्फ सबैभन्दा कम कोहलपुरको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ भदौ १६ गते आइतबार