शिक्षक संघ बाँकेको अध्यक्षमा ऋषि शर्मा निर्वाचित

काेहलपुर ।

नेपाल शिक्षक संघ बाँकेको नवौं अधिवेशनबाट अध्यक्षमा ऋषिराज शर्मा भारी मतान्तरले निर्वाचित भएका छन् । नयाँ कार्यसमिति चयन गर्न आज भएको निर्वाचनबाट शर्मा ६७९ मतका साथ अध्यक्षमा निर्वाचित भएको निर्वाचन समिति सदस्य अधिवक्ता चित्रबहादुर शाहीले बताए ।

शर्माका निकटतम् प्रतिद्वन्दी शेखरबहादुर रावतले २८२ मत पाए । दुई बीचको मतान्तर ३९७ छ । शर्मा यसअघि सचिव र रावत उपाध्यक्ष थिए । यस्तै सचिवमा चन्द्रबहादुर एरी निर्वाचित भएका छन् । उनले ५७६ मत पाउँदा उनका प्रतिद्वन्दी हरिप्रसाद अधिकारीले ३७६ मत पाएको शाहीले जानकारी दिए । सहसचिवमा रमेशकुमार विसी ४१६ मतका साथ विजयी भएका छन् । प्रतिद्वन्दीहरु प्रदिपकुमार खत्रीले ३२३ र गोविन्दराज पौडेलले २१७ मत पाएका छन् ।

शिक्षक संघ बाँकेमा १२५७ मतदाता रहेकोमा ९९० जनाले मतदान गरेको शाहीले जानकारी दिएका छन् । खसेको मत कुल मतको ७८.७५ प्रतिशत हो । सर्वसम्मतका लागि एक सातासम्मको प्रयास भएपनि त्यो विफल भएपछि आज तीन वटा पदमा मतदान गराइएको हो । गत शनिवार नै संघको नवौं अधिवेशन उद्घाटन गरिएको थियो ।

उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव अर्थ, सहसचिव महिला, सहसचिव अर्थ महिला भने निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षमा मनोजराजा श्रीवास्तव, महिला उपाध्यक्षमा तारा थापा, सचिव अर्थमा पुस्करराज खड्का, सहसचिव महिलामा शोभा मल्ल र सहसचिव अर्थ महिलामा यशोदा शाह निर्विरोध निर्वाचित भएका थिए । शिक्षक संघ नेपाली कांग्रेसको शुभेच्छुक संगठन हो ।