अमेरिकामा नेपाली धावक आयुषले तोडे २३ वर्ष पुरानो रेकर्ड

काठमाडौं ।

नेपाली एथ्लेटिक्स धावक आयुष कुँवरले अमेरिकामा २३ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । नेपालका स्प्रिन्टर आयुषले एथ्लेटिक्सको इन्डोरमा ६० मिटर र २०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

हाल अमेरिकामा बस्दै आएका आयुषले वासिङ्गटनको स्पोकानमा भएको विथवर्थ इन्डोर ट्रयाक एण्ड फिल्ड इन्भाइट प्रतियोगितामा इन्डोरअन्तर्गत ६० मिटर दौडमा २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेका हुन् ।

फ्रेब्रुअरी ९ र १० मा भएको यस प्रतियोगितामा विश्व एथ्लेटिक्को सर्वोच्च निकाय वर्ल्ड एथ्लेटिक्सले स्याङसन गरेको छ ।

उनले सन् २००१ मा रामकृष्ण चौधरीले बनाएको ७.०९ सेकेण्डको कीर्तिमान ब्रेक गर्दै ७.०२ सेकेण्डको नयाँ कीर्तिमान बनाएका हुन् ।

आयुषले क्वालिफाइङ राउण्डमा रामकृष्णको कीर्तिमान बराबरी गरेका थिए भने अर्को राउण्डमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

उनले अमेरिकाको सिटी स्पीड एसएफ क्लबमा प्रशिक्षण गर्दै आएका छन् र त्यही क्लबलाई प्रतियोगितामा आमन्त्रण गरेपछि आयुषले पनि भाग लिएका थिए । उनले नेपालकै नामबाट प्रतिस्पर्धा गरेका थिए ।

६० मिटरमा दुई दशकभन्दा पुरानो राष्ट्रिय कीर्तिमान तोड्न पाउँदा खुशी लागेको आयुषले अमेरिकाबाट बताए । ‘क्वालिफाइङमा कीर्तिमान बराबरी गर्दा म एकदमै आशावादी भएको थिएँ र सेमिफाइनलमा ब्रेक नै गर्छु भनेर नै दौ८एको थिएँ । त्यसमा सफल भएँ । एकदमै गर्व लागिरहेको छ,’ आयुषले भने , ‘मैले इन्डोरमा ६० मिटर र २०० मिटर दुवैमा राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेको थिएँ त्यसमा सफल भएँ ।

आयुषले इन्डोर २०० मिटर दौडमा पनि ७ वर्ष पुरानो कीर्तिमान ब्रेक गर्दै २२.७९ सेकेण्डको नयाँ कीर्तिमान बनाएका छन्।

वर्ल्ड एथ्लेटिक्सले आयुषको ६० मिटरको टाइमिङ आफ्नो आधिकारिक साइटमा अपडेट गरेपनि २०० मिटरको भने अपडेट गरेको छैन ।

यसअघि इन्डोर २०० मिटरमा सन् २०१७ मा दक्षिण कोरियामा भएको वर्ल्ड मास्टर्स च्याम्पियनसिपमा नेपालका रमेश महर्जनले २८.९७ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

नेपाली खेलाडीले एथ्लेटिक्सको इन्डोरमा धेरै अवसर नपाउँदा लामो समयदेखि कीर्तिमान ब्रेक हुन नसकेको आयुषले बताए । उनले भने, ‘नेपाली खेलाडीले इन्डोरमा त्यति अवसर पाउँदैनन् । अहिले अमरिकामा इन्डोर सेसल चलिरहेको छ र मैले त्यसमा प्रतिस्पर्धा गर्ने अवसर पाएँ र त्यसमा मैले कीर्तिमान ब्रेक गर्न सकेँ ।

नेपालमा इन्डोर एथ्लेटिक्स नभएपनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्रै इन्डोरमा भाग लिँदै आएका छन् ।

अबको लक्ष्य १०० र २०० मिटरमा राष्ट्रिय कीर्तिमान

पछिल्लो समय आयुषले एसियन एथ्लेटिक्स च्याम्पियन र वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा स्प्रिन्टमा भाग लिएका थिए ।

त्यसमा पनि उनले नयाँ राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेका थिए तर सफल भएनन् । अब भने उनको लक्ष्य आउटडोरमा १०० मिटर र २०० मिटर स्प्रिन्टमा राष्ट्रिय कीर्तिमान बनाउने रहेको छ । ‘यहाँ अब इन्डोर सेसन सकिएको छ।

अब म १०० मिटर र २०० मिटर दौडमा केन्द्रित हुन्छु र मेरो अबको लक्ष्य भनेकै १०० र २०० मिटरमा राष्ट्रिय कीर्तिमान ब्रेक गर्ने हो,’ आयुषले भने ।

आयुषले गत भदौमा हंगेरीको बुढापेष्टमा भएको वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा पुरुष १०० मिटरको प्रारम्भिक चरणमा निर्धारित दूरी ११.०७ सेकेण्डमा पूरा गरेका थिए । त्यसअघि असारमा थाइल्याण्डको बैंककमा भएको एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा उनले १०० मिटर दूरी ११.२० सेकेण्डमा पूरा गरेका थिए ।

१०० मिटरमा उनको व्यक्तिगत उत्कृष्ट समय भने ११.०१ सेकेण्ड हो । गत मार्चमा अमेरिकाको पालो अल्टोमा भएको कार्डिनल क्लासिक, कोब ट्रयाक एण्ड फिल्डमा उनले उक्त समय निकालेका थिए ।

पुरुष १०० मिटरमा पनि राष्ट्रिय कीर्तिमान रामकृष्ण चौधरीकै नाममा छ । उनले सन् १९९९ मा नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदमा १०० मिटरमा १०.७१ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । २५ वर्ष देखि यो कीर्तिमान कसैले पनि तोड्न सकेको छैन ।

यस्तै २०० मिटरमा पनि रामकृष्णकै नाममा २१.९२ सेकेण्डको राष्ट्रिय कीर्तिमान छ ।

अब आफू यी दुई विभामा फोकस हुने र त्यसमा राष्ट्रिय कीर्तिमान ब्रेक गर्न सकेन ओलम्पिक समेत खेल्नेमा आशावादी रहेको बताए । ‘यी दुई विधामा राष्ट्रिय कीर्तिमान बनाउन सकेँ भने ओलम्पिकको आशा पनि बढ्नेछ । त्यही अनुसार ट्रेनिङ पनि गरिरहेको छु,’ उनले भने ।

उनले राष्ट्रिय कीर्तिमान बनाउनका लागि स्वस्थ हुनुपर्ने, इन्जुरी फ्रिक हुनुपर्ने पनि बताए । अमेरिकामै बसेर आफ्नो काम र एथ्लेटिक्सलाई पनि सँगै अघि बढाएका आयुष नेपालको प्रतिनिधित्व गर्दै पदक समेत दिलाउने लक्ष्यमा छन् ।