भारतलाई पराजित गर्दै अस्ट्रेलिया बन्यो छैटौं पटक विश्वविजेता

भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको छ।

आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको हो।

यससँगै अस्ट्रेलिया छैटौं पटक विश्वविजेता बन्न सफल भयो। सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा उपाधि जितेर उपाधिमा ह्याट्रिक गर्ने कीर्तिमान बनाएको थियो।

यस्तै अस्ट्रेलियाले २०१५ मा पाँचौ पटक उपाधि जित्ने क्रममा न्युजिल्यान्डलाई पराजित गरेको थियो।

भारतको तेस्रो पटक उपाधि जित्ने लक्ष्य भने पूरा हुन सकेन। सन् १९८३ मा पहिलो उपाधि जितेको भारत पछिल्लो पटक २०११ मा च्याम्पियन बनेको थियो।

यसपटक लिग चरण र सेमिफाइनल गरी लगातार १० खेलमा अपराजित रहदै उत्कृष्ट लयमा रहेको भारत फाइनलमा भने अस्ट्रेलियासँग पराजित हुँदा स्तब्ध बन्यो। विश्वकपको लगातार १० खेलमा जित हात पारेको भारतका लागि फाइनलमा ब्याटिङ नचल्नु दूर्भाग्य बन्यो।

अस्ट्रेलियाले यो विश्वकपमा सुरुवाती दुई खेलमा पराजय भोगेको थियो। पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग हारेको अस्ट्रेलियाले त्यसपछि सात खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेको थियो। सेमिफाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिका र फाइनलमा भारतलाई पराजित गर्दै समूह चरणको हारको बदला समेत लिन सफल भयो।

अस्ट्रेलियाले एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा भारतसँग अपराजित नजिता कामय राखेको छ। यसअघि अस्ट्रेलियाले सन् २००३ को फाइनलमा पनि भारतलाई पराजित गरेर उपाधि जितेको थियो।

हेडको शतकमा अस्ट्रेलियाको सहज जित

आइतबार भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४ विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्‍यो।

अस्ट्रेलियाका लागि ओपनिङ ब्याट्सम्यान त्रविस हेडले शतक प्रहार गरे। सात ओभरमा तीन विकेट गएपछि उनले मार्नस लबुसेनसँग शतकीय साझेदारी गर्दा अस्ट्रेलियाको जित सहज बनेको थियो। लबुसेनले पनि अर्धशतक प्रहार गर्न सफल भए।

तीन विकेट गएपछि हेड र लबुसेनले सम्हालिए ब्याटिङ गरेका थिए। हेडले १३७ रनको योगदान गरे। उनले १२० बलमा १५ चौका र ४ छक्का प्रहार गरे। उनले लबुसेनसँग चौथो विकेटका लागि १९२ रनको साझेदारी गरे। लबुसेनले नटआउट ५८ रन जोडे।

त्यसअघि खराब सुरुवात गरेको अस्ट्रेलियाका ओपनर डेभिड वार्नर दोस्रो ओभरको पहिलो बलमा ७ रनमा भारतका मोहमद सामीको बलमा विराट कोहलीबाट क्याच भए। त्यसपछि मिचेल मार्स पाँचौ ओभरको तेस्रो बलमा १५ रनमा जसप्रित बुमराहको बलमा विकेटकिपर केएल राहुलबाट समातिए।

स्टेभिन स्मिथ सातौं ओभरको अन्तिम बलमा ४ रन बनाएर खेलिरहदा बुमराहकै एलबिडब्लूको धरापमा परेका थिए। अस्ट्रेलियाले पावर प्लेको १० ओभरमा ३ विकेटको क्षतिमा ६० रन जोडेको थियो।

त्यसअघि भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले अन्तिम बलमा अलआउट हुँदा २४० रन मात्र जोड्न सक्यो।

बलिङमा बुमराहले २ विकेट लिए भने सामी र मोहमद सिराजले एक एक विकेट हात पारे।

भारतका लागि केएल राहुल र विराट कोहलीले अर्धशकतक प्रहार गरे। केएल राहुलले ६६ रन बनाएर आउट हुनुअघि १०७ बलमा १ चौका मात्र प्रहार गर्न सकेका थिए।

विराट कोहलीले ५४ रनको योगादन गरे। अस्ट्रेलियाका कप्तान पाट कमिन्सले २८.३ ओभरमा आउट गर्नु गर्नुअघि उनले ६३ बलमा ४ चौका हिर्काए।

भारतले १० ओभरपछि ९७ बल खेलेपछि मात्र बाउन्ड्री प्रहार गर्दा रनरेट घटेको थियो। दशौं ओभरपछि भारतका केएल राहुलले २६.२ ओभरमा चौका प्रहार गरेका थिए।

भारतका ओपनिङ ब्याट्सम्यान शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भएका थिए। उनलाई मिचेल स्टार्कले एडम जाम्पाबाट क्याच गराए।

दशौं ओभरको चौथो बलमा भारतका ओपनर तथा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए। रोहितलाई ग्लेन म्याक्सवेलले त्रविस हेडको उत्कृष्ट क्याचमार्फत् आउट गरेका थिए। उनले आउट हुनुअघि ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। अर्को ओभरमा कप्तान पाट कमिन्सले श्रेयष अय्यरलाई ४ रनमा आउट गरेपछि भारत दबाबमा आएको थियो।

लगातार विकेट गएपछि दबाबका बीच ब्याटिङ गरेका सूर्यकुमार यादवले २८ बलमा १८ रन मात्र जोड्न सके भने रविन्द्र जडेजा ९, मोहमद सामी १ रन र जसप्रित बुमराह १ रनमा आउट भए। कुलदिप यादवले अन्तिम बलमा रनआउट हुनुअघि १० रन र मोहमद सिराजले नटआउट ९ रन बनाए।

बलिङमा अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए। उनले १० ओभरमा ५५ रन खर्चिए। जोश हजलउड र‍ पाट कमिन्सले २-२ विकेट लिए। हजलउडले १० ओभरमा ६० रन र कमिन्सले १० ओभरमा ३४ रन दिए। ग्लेन म्याक्सवेल र एडम जाम्पाले १-१ विकेट लिन सफल भए।