मेयर हर्क साम्पाङलाई प्रश्न गरेकै आधारमा एक युवक प्रहरी हिरासतमा

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक युवकलाई आफूमाथि प्रश्न गरेकै कारण प्रहरी थुनामा पुर्‍याएका छन्।

झण्डै एक दशकसम्म सामाजिक अभियन्ताको रूपमा सक्रिय रहँदा जवाफदेही निकायलाई प्रश्न गरेरै धरानको मेयर बनेका साम्पाङ आफूलाई प्रश्न गर्नेसँग भने सधैं कठोर रूपमा प्रस्तुत हुँदै आएका छन्।

यसपटक उनीमाथि प्रश्न गरेको भन्दै धरान-१५ का अशोक लिम्बूलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा पुर्‍याएका छन्। उनी शुक्रबार साँझदेखि प्रहरी हिरासतमा छन्।

मेयर साम्पाङले धरानमा हरेक शुक्रबार लागु औषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आएका छन्। यसपटक पनि शुक्रबार अपराह्न उनी आफ्नो टोलीसहित हातेमाइक बोकेर धरान १५ पुगेका थिए।

त्यहाँ पुगेर मेयर हर्कले बोल्दै गर्दा ती युवकले उनलाई प्रश्न गरेका थिए। यो भिडिओ पनि सार्वजनिक भइसकेको छ।

‘हर्क दाई’ भन्दै ती युवाले मेयरलाई धरानमा मान्छे डेंगीले बिरामी भएको तर तपाईं चाहिँ फोटो खिचाउँदै हिँड्ने? भन्दै प्रश्न गरेका थिए। जवाफमा मेयर साम्पाङ ‘तिमी विरोध गर्न आएको?’ भन्दै रिसाउँछन्।

त्यही बीचमा उनले नगर प्रहरीलाई अशोकलाई पक्राउ गर्न निर्देशन दिन्छन्। मेयरको निर्देशनपछि नगर प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय पुर्‍याएका थिए। प्रहरीका अनुसार ती युवक अहिले पनि प्रहरी थुनामै छन्।

डिएसपी नवराज मल्लले लिम्बूलाई ‘मौखिक उजुरीका आधारमा राखिएको’ बताए।

यसबारे बुझ्न खोज्दा धरानका डिएसपी नवराज मल्लले भने, ‘हामीले पक्राउ गरेको होइन। नगर प्रहरीले ल्याएर जिम्मा लगाएको हो। उहाँ अहिले हामीसँग हुनुहुन्छ।’

प्रहरी युवा संघले धरानमा गर्ने कार्यक्रममा व्यस्त भएको, आज सार्वजनिक बिदा भएको र उसबारे जिल्ला सुरक्षा समितिका पदाधिकारी जानकार रहेको उनको भनाइ छ।

प्रहरीले बिना उजुरी र बिना कसुर थुनामा राखेका युवकमाथि अराजकता फैलाएको मेयर साम्पाङको आरोप छ। फेसबुकमा उनले अराजकता फैलाउनेलाई थुनाएको लेखेका छन्।

सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मेयरमाथि अभद्र व्यवहार भएको कुरा आएपछि अनुसन्धानका लागि लिम्बूलाई नियन्त्रणमा लिएको तर शनिबार बिहानै छाडिसकेको बताइन्।

अहिले भर्खरै प्रहरीले ती युवा हामीसँगै हुनुहुन्छ भनिरहेको छ नि, कसरी छुटे भन्ने प्रतिप्रश्नमा प्रजिअ पाण्डेले ‘त्यसो भए किटानी जाहेरी परेर अनुसन्धानमा होला,’ भन्ने जवाफ दिइन्। प्रहरीले भने मेयरको मौखिक उजुरीका भरमा थुनामा राखेको बताएको छ।