राप्रपा बाँके विवाद : महिला संगठनले गर्यो तालाबन्दी

कोहलपुर ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) बाँकेमा ठूलै विवाद उत्पन्न भएको छ । आइतबार दिउँसो राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेको बैठक हुँदै गर्दा जिल्ला अध्यक्ष नरेन्द्र पौडेल र पार्टीका सहायक महामन्त्री ऋषिराज देवकोटा बैठक कक्षमै प्रवेश गरी बैठक अन्यत्र गर्न दबाब दिएपछि उत्पन्न विवादले उग्र रुप लिएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँके अध्यक्ष सरिता शाही, केन्द्रीय सदस्य पिंकी शाह सहितका महिला नेतृहरु सहभागी बैठकमा जिल्ला अध्यक्ष पौडेल र सहायक महामन्त्री देवकोटाले महिलाहरुको बैठकमा आएर दमनको शैलीमा अपमान गरेको भन्दै उनीहरुले आइतबार साँझ नै पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

तर, आज बिहान सहायक महामन्त्री देवकोटाको नेतृत्वमा आएको बिद्यार्थीहरुको टोलीले ताला फोडेपछि केहीबेर पार्टी कार्यालयमै घम्साघम्सी भएको थियो ।

“आइतबार दिउँसो हामी महिलाहरुको बैठक बसिरहेका बेला अध्यक्ष र सहायक महामन्त्रीज्यु आएर पार्टी छाडिसकेका तिमीहरुलाई यहाँ बैठक गर्ने अधिकार छैन भन्दै अभद्र व्यबहार गरेका कारण हामी तालाबन्दी गर्न बाध्य भएका हौं, अध्यक्ष शाहीले भनिन् ।

महिलाकै बैठकमा आएर जिम्मेवार नेताहरुबाट नै अपमानित हुनुपर्दा बाध्य भएर तालाबन्दी गर्नुपरेको महिला संगठनकी केन्द्रीय सदस्य शाहले भनिन् ।

यता सहायक महामन्त्री देवकोटाले भने जिल्ला कार्यसमितिको बैठकमा नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा निर्वाचित इन्दिरा शाहीलाई सम्मान गर्न बैठकमा पनि सहभागी बन्न आग्रह गरेको बताए । महिलालाई अपमानित नगरेको देवकोटाले दाबी गरे ।

सहायक महामन्त्री जस्तो जिम्मेवार नेताबाट नै महिलाहरु अपमानित हुनु अन्त्यन्त दु:खद भएको जिल्ला उपाध्यक्ष राधा महतराले बताइन्। अपमान सधैं महिलाले मात्रै किन सहने भन्ने लागेर तालबन्दी गरेको महतराको भनाई छ ।

सहायक महामन्त्री देवकोटाले गरेको अन्याय नसहने भन्दै आज फेरि महिला संगठनले पार्टी कार्यालयमा तालाबन्दी गरेको छ ।