एमालेका ७ उपाध्यक्षले कुन–कुन विभागको जिम्मेवारी पाए?

नेकपा (एमाले) ले केन्द्रीय उपाध्यक्षहरूलाई विभागहरूको संयोजनको जिम्मेवारी तोकेको छ । एमालेमा ३२ वटा विषयगत विभागहरू छन् ।
पार्टीका सात जना उपाध्यक्षलाई विषयमिल्दो हिसाबले विभागहरूको कामको संयोजनको जिम्मेवारी दिइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

पार्टी कार्यालय, च्यासल, ललितपुरमा शुक्रबार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म बसेको केन्द्रीय सचिवालयको बैठकले उपाध्यक्षहरूको पनि जिम्मेवारी हेरफेर गरेको हो ।

उपमहासचिव ज्ञवालीका अनुसार उपाध्यक्षहरूले विभागीय कामको संयोजन गरेर नीति बनाउन योगदान दिनेछन् ।

‘उहाँहरूले नीति बनाउने ठाउँमा नीति तर्जुमा गर्नुहुनेछ। सरकारलाई दबाब दिनुपर्ने ठाउँमा दबाब पनि दिनुहुनेछ,’ उनले भने, ‘विज्ञहरूसँग परामर्श गर्नुपर्ने लगायतका कामहरू गर्नुहुनेछ ।’ त्यसमध्ये योजना र नीतिसँग जोडिएका कामहरूको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नेछन् ।

पूर्वाधार विकास र निर्माणसँग जोडिएका विभागहरूको कामको नेतृत्व सुरेन्द्र पाण्डेले गर्नेगरी जिम्मेवारी तोकिएको छ ।

कृषि तथा उद्यमशीलतासँग जोडिएका विभागहरूको कामको संयोजन रामबहादुर थापा बादलले गर्नेछन् । सामाजिक विकाससँग गाँसिएका विभागको कामको संयोजन अष्टक्ष्मी शाक्यले गर्ने गरी जिम्मेवारी दिइएको छ ।

मानव स्रोतसँग जोडिएका विभागहरूको संयोजन गर्ने जिम्मा युवराज ज्ञवालीले पाएका छन् । सुशासन र सेवा प्रवाहसँग जोडिएका विभागहरूको कामको नेतृत्व सुवास नेम्वाङले गर्ने ज्ञवालीले जानकारी दिए । संगठन, प्रशिक्षण र प्रचारसँग जोडिएका विभागहरूको कामको संयोजन विष्णु पौडेलले गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको छ ।