गठबन्धनको गढमा स्वर्णिम हाबी




काठमाडौं ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत तनहुँ–१ मा मतगणना जारी छ । सोमबार जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता कायम गरेका छन् ।

पछिल्लो अपडेटअनुसार २२ हजार ३५८ मत गनिँदा उनले ११ हजार मत कटाएका छन् । वाग्लेले ११ हजार ४२८ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ६ हजार ४३५ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्दलाई स्वर्णिमले ४ हजार ९९३ मत अन्तरले पछि पारेका छन् ।

यता नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ७४८ मत पाएका छन् । खनाल र वाग्लेको मतान्तर ७ हजार ६८० छ । अहिलेसम्मको मतगणनाबाट आएको परिणामलाई आधार मान्ने हो भने स्वर्णिमले सत्ता गठबन्धन र नेकपा एमालेको गढ भनिएकै क्षेत्रबाट धेरै मत पाएका छन् ।

वाग्लेले यसअघि एमालेलाई मत दिएका धेरै मतदाताको मत यसपालि आफूतिर तानेका छन् ।र यस क्षेत्रमा आफ्नो पकड बलियो बनाउँदै लगेका छन् । गत ४ मंसिरमा सम्पन्न आम निर्वाचनमा एमालेले झन्डै २० हजार ल्याएको थियो । तर, अहिलेकाे प्रतिस्पर्धामा खनाल कमजाेर देखिए ।

स्थानीय तह निर्वाचनमा १३ वटा वडाहरु रहेको भानु नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पद कांग्रेसले जितेको थियो ।
यहाँका ९ वटा वडा कांग्रेसले तथा एमाले र स्वतन्त्रले दुई–दुई वटा वडा जितेका थिए । यसैगरी आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा माओवादी केन्द्रका उम्मेदवारले जितेका थिए ।

कांग्रेस दोस्रो भएको थियो । तर भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिकाकै वडाहरुबाट स्वर्णिमको पक्षमा बढी भोट खसेको छ । भानुको वडा नम्बर ३ मा स्वर्णिमले ७१४, वडा नम्बर ४ मा ७५९ र वडा नम्बर ८ मा ८५६ मत पाउँदा गोविन्दले ४१८, ४८२ र ४५८ मत पाएका छन् ।

अहिलेसम्म २५ प्रतिशत मात्र मत गणना भएको छ । तर, वाग्लेको जित निश्चितच जस्तै देखिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार अहिलेसम्म त्यहाँ १६ वटा वडाको मतगणना भइसकेको छ ।

प्रकाशित मिति : २०८० वैशाख ११ गते सोमबार