पेशागत मर्यादा कायम गर्नुपर्नेमा जोड

नेपालगन्ज ।

प्रेस सेन्टर नेपालको १९औं स्थापना दिवस विविध कार्यक्रम गरी देशव्यापी रूपमा मनाईएको छ । दिवसको अवसरमा बाँकेमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ बाँकेको सभाहलमा भएको कार्यक्रममा पत्रकारीतासँग सम्बन्धित विभिन्न संघ संगठनका प्रतिनिधी तथा स्थानिय संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्टप्रसाद धितालको अध्यक्षता तथा केन्द्रिय सचिव सिराज खानको प्रमुख उपस्थितीमा सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाली पत्रकारीता क्षेत्रमा प्रेस सेन्टरले पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सिराज खानले गणतन्त्र जोगाउन र ब्यवासायिक मिशन पत्रकारितालाई अगाडि बढाउने आफनो संगठनको मुख्य एजेन्डा रहेको बताए । पत्रकारीतालाई मर्यादिन पेशाका रुपमा स्थापित गर्न प्रेस सेन्टर नेपाल लागिपरेको उल्लेख गर्दै खानले भने, ‘नेतागिरी गर्न होइन, पत्रकारिता गर्न संगठनमा जोड्दै छौं, संगठन विस्तार सगैं दक्ष पत्रकार बनाउदै छौं ।’ उनले नेपाली पत्रकारीता क्षेत्रमा स्वर्गीय पत्रकार कृष्णसेन ‘इच्छुक’ ले पुर्याएको योगदानको प्रशंसा समेत गरेका थिए ।

यसै गरी प्रेस सेन्टर नेपालका केन्द्रिय नीति तथा परामर्श समिति सदस्य शुसिल लामिछाने, केन्द्रिय सदस्य शिव सुनार, लुम्विनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्लेले तत्कालिन अवस्थाको जनपक्षिय मिशन पत्रकारिता, स्वर्गीय पत्रकार कृष्णसेन ‘इच्छुक’ को योगदान, संविधान, हालसम्मका उपलब्धीहरुको रक्षा, अबको ब्यवासायिक पत्रकारिता लगायतका बिषयमा चर्चा गरेका थिए ।

नेकपा माओवादी केन्द्रका नेपालगंज नगर अध्यक्ष रतन बहादुर शाहीले देशमा ब्यवस्था परिवर्तन भएपनि अझै जनताको अवस्था परिवर्तन नभएको भन्दै अब जनताको अवस्था परिवर्तनका लागी आलोचनात्मक चेत राखेर आ-आफनो ठाउँबाट खबरदारी गर्न, जनपक्षिय पत्रकारितालाई अगाडी बढाउन आग्रह गरे ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष संगिन शर्माले पत्रकारितालाई मर्यादित पेशाका रुपमा विकास गर्न चुनौति थपिएको भन्दै यसमा महासंघले काम गरिरहेको बताए । उनले प्रेस सेन्टर नेपालले महासंघको हलमा कार्यक्रम राखेर चहलपहल बढाएकोमा खुसी ब्यक्त गर्दै नेपाल पत्रकार महासंघ बाँकेको सभा हल सबै पत्रकार संगठनहरुका लागी निशुल्क रुपमा उपलब्ध गराईएकोले सदुपयोग गर्न अनुरोध समेत गरे ।

प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष दुर्गा रोकायले प्रेस सेन्टर नेपाल स्थापना दिवसको अवसरमा शुभकामना दिदै पत्रकारिता क्षेत्रमा केही विसंगति र विकृती महसुस गरिएकोले मर्यादित पत्रकारिता पेशा बनाउन सबै लाग्नुपर्ने धारणा राखे ।

यस्तै नेपाल प्रेस युनियन बाँकेका सचिव बिजय मल्लले वास्तविक पत्रकारलाई सबै मिलेर हौसला प्रदान गर्नुपर्नेमा जोड दिए ।

वि.स. २०६१ साल माघ १५ गते अखिल नेपाल क्रान्तिकारी पत्रकार संघको नाममा रोल्पाबाट शुरुवात भएको क्रान्तिकारी पत्रकारहरुको संगठन अहिले प्रेस सेन्टर नेपालका रुपमा क्रियाशिल रहेको उल्लेख गर्दै प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले जनयुद्धको गर्भबाट उदाएको प्रेस सेन्टरले खोजमुलक मिशन पत्रकारीतालाई प्राथमिकता दिदैको आएकाले पछिल्लो पिढींमा संगठनप्रति आकर्षण बढ्दै भन्दै खुसी ब्यक्त गरे ।