जनमतका कार्यकर्ताले जलाए ट्रक, तीन जना पक्राउ

किसान आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताहरुले धनुषामा ट्रकमा आगजनी गरेका छन् । गणेशमान चारनाथ नगरपालिका १ छघरियामा ना १ क ७७६९ नम्बरको ट्रकमा जनमतका कार्यकर्ताले आगो लगाएका हुन् ।

दिउँसो करिब ३: २० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त ट्रकमा आन्दोलनकारीले आगो लगाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आगजनीबाट ट्रक क्षतिग्रस्त बनेको छ । आगजनी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, कार्यकर्ताद्वय चन्दन कुमार साह र नविन पण्डित रहेका छन् । धनुषाका प्रहरी प्रवक्ता एवम डिएसपी जीतेन्द्र कुमार बस्नेतले तीनै जनालाई ट्रकमा आगो लगाएको आरोपमा पक्राउ गरिएको जानकारी दिए । उनले घटनाको थप अनुसन्धान भइरहेको बताए ।