शिक्षाका हिमायती ‘बद्रि’

कडा मेहनत, लगनशिल र परिश्रममा विश्वास गर्नुपर्छ भन्ने गतिलो उदाहरण हुन् बद्रिनाथ सापकोटा । उनी शिवशक्ति आधारभुत विद्यालयका प्रधानाध्यापक हुन् । बालबालिकाको भविष्य बारेमा बिहान उठेदेखि राती नसु्तेसम्म चिन्ताले पिरोल्छ उनलाई । प्रधानाध्यापकलाई विद्यालयको प्रशासनदेखि कक्षा कोठासम्म, बालबालिकादेखि समाजसम्म, हरेक दिनमा परिर्वतन जटिल विषयहरु सहाल्दै अगाडि बढ्नु निकै गाह्रो हुन्छ । प्रधानाध्यापक बनेर कलिला बालबालिकाहरुको भविष्यको उज्यालो बनाउने पूर्ण जिम्मेवारी बोकेर काम गर्न काँचो माटोलाई ढुंङ्गा जस्तै बलियो बनाउनु हो । उनले वि.स. २०५० सालमा बालशिक्षादेखि लक्ष्मी मावि हुँदै शिवशक्ति आधारभूत विद्यालयमा नमूना काम गरेका छन् । पछिल्लो १ वर्षमा शिवशक्ति आधारभुत विद्यालयको प्रअ सम्हालेका उनले नमूना विद्यालयको स्वरुप दिएका छन् ।

बाँकेमा नै उनको शिक्षाको गुणस्तर अभिवृद्धि र विद्यालयको विकासमा नेतृत्वदायी भूमिका छ । कोहलपुर नगरपालिकाको नमूना विद्यालयको स्वरुप छ शिव शक्ति आधारभुत विद्यालय । उनले प्रअको भूमिका सम्हालेको १ वर्ष भयो । उनको काम गर्ने शैली भिन्न छ । उनी आफूले बनाएका योजनालाई पुरा गर्न अहोरात्र खटिएर काम गर्छन् । कोहलपुरलाई शैक्षिक हब बनाउन उनीसंग थुप्रै योजना छन् । विद्यालयको बालमैत्री संरक्षण नीतिदेखि विद्यालय सुधार योजनासम्म निर्माण गरेका छन् । ‘यो मेरो लगनशिल, मेहनत र परिश्रमकोे फल हो,’ उनी भन्छन् ।

बुबा बुद्धिसागर सापकोटा र आमा जगतमाया सापकोटाको कोखबाट २०२५ साल चैत्र १२ गते कास्कीमा बद्रि सापकोटाको जन्म भएको थियो । उनका ४ भाई २ दिदि छन् । उनी सबैभन्दा जेठो छोरा हुन् । उनी मध्यम वर्गको परिवारको सदस्य हुन् । उनको अहिले छोरा/बुहारी र २ छोरी छन् । उनले गाउँ नजिकै १ देखि ३ कक्षासम्म धुव्र निम्न विद्यालयबाट (२०३१-२०३२) पुरा गरे । कास्की जिल्लाबाट वि.स २०३५ सालमा स-परिवार सहित बर्दिया आए । बर्दिया ढोडरीमा रहेको नेपाल राष्ट्रिय मा.वि.बाट ४ र ५ (२०३६-२०३७) र ठाकुरबाबाको चुरे माध्यमिक विद्यालयबाट ६ देखि १० (२०३८-२०४५) सम्म पुरा गरे । बर्दियाबाट स-परिवार सहित वि.स. २०४९ सालमा कार्तिक १७ गते कोहलपुर-२ मा बसाईसराइ गरे ।

कोहलपुर नगरपालिका १३ मा रहेको बालशिक्षा आधारभूत विद्यालयको रुपमा बद्रि सापकोटाले २०५० भदौ १ गते स्थापना गरे । उनलाई वि.व्य.स.को सिफारिस गरेपछि जिल्ला समन्वय समितिबाट अस्थायी प्र.अ.को भूमिकामा नियुक्ति दियो । ‘अभिभावकलाई प्रेरितगरी बालबालिकाहरुलाई विद्यालयसम्म ल्याउन निकै कठिन थियो,’ उनी भन्छन्, ‘तर हामी दिनरात खटिएपछि १ कक्षाको अनुमति पायौं र विद्यालयमा ४५ जना विद्यार्थी भर्ना गर्न सफल भयौं ।’ ‘क्रमशः कक्षा ५ सम्म थप हुँदै गयो, पछि विस्तारै २ सय ७० जना विद्यार्थी बनायौं,’ उनले थपे । उनको काम र लगनशिलतालाई देखेर विद्यालयलाई कोहलपुर स्रोत केन्द्रले २५ हजार नगद सहित सम्मान गर्‍र्यो । उनलाई थप हौसला प्रदान भयो । झन् उनले विभिन्न योजना सहित सक्रिय रुपमा लाग्न थाले । बागेश्वरी बहुमुखी क्याम्पसबाट (२०५४-२०५५) प्रविणता तह पुरा गरे ।

वि.स. २०५६ सालमा लक्ष्मी मा.वि. बर्दहवामा सरुवा भए । उनी शिक्षकको रुपमा लक्ष्मी मा.वि.मा आए । स्नातक तह (२०६५-२०६७) सुर्खेतको शिक्षा क्याम्पसबाट पुरा गरे । निरन्तर कक्षामा विद्यार्थी उर्तिण, नियमित क्रियाकलापले वि.व्य.स.ले उनलाई वि.स. २०७० चैत २३ गते प्र.अ.को भूमिका दियो । ‘प्र.अ.को भूमिका लिँदा विद्यालयमा ८ कोठे पक्की भवन, ८ कोठे कच्ची र ६ कोठे जिर्ण भवन, ८ सय ५० विद्यार्थी र ८ लाख ५६ हजार घाटामा विद्यालय चलिरहेको थियो,’ सापकोटा भन्छन् । ७ वर्षको अवधिमा सापकोटाले २२ कोठे पक्की भवन, ९५ मिटर पक्की पर्खाल, १६ सय ५० विद्यार्थी, शौचालय र घाटामा रहेको विद्यालयलाई माथि उकास्ने लगायतका काम गरे ।

सापकोटाको नयाँ वर्ष आउनु नै नयाँ कामको सुरुवात हुन्छ । प्रत्येक वर्ष विद्यालयको भवन निर्माण, पर्खाल, विभिन्न ५ संकाय लगायत अन्य विद्यार्थीहरुलाई सक्रिय बनाई अग्रस्थानमा ल्याउन सफल भए । उनलाई कामलाई मूल्याङ्कन गरी मन्त्रालयले शिक्षा संकाय, व्यवस्थापन संकाय, खेल संकाय विज्ञान संकाय र कृषि विज्ञान संकाय सञ्चालनका लागि अनुमति दियो । उनले लक्ष्मी मा.वि. विद्यालयलाई समेत कोहलपुरको नमूना विद्यालयको स्वरुप दिन सफल भए ।

फेरी उनलाई कोहलपुर नगरपालिकाले २०७७ सालमा दरबन्दी मिलान गर्‍र्यो । दरबन्दी मिलानमा उनी शिवशक्ति आधारभूत विद्यालयमा जानुपर्‍र्यो । उनी नगरपालिकाले गरेको निर्णयलाई स्वीकार गर्दै प्र.अ.को भूमिका शिवशक्तिमा पुगे । शिवशक्तिमा पुगेको दुई वर्ष पुगेको छैन तर उनले सामाजिक विकास डिविजन कार्यालयबाट सम्मान प्राप्त गर्न सफल भए । शिवशक्तिमा पनि प्रअ हुँदै गर्दा ६ कोठे टिनको छानो, २ कोठे पक्की, १ कोठे जिर्ण रहेको सापकोटा बताउँछन् ।

उनले प्र.अ. सम्हालेको करिब २ वर्ष पुग्न थालेको छ । प्र.अ. सापकोटा भन्छन्, ‘विद्यार्थीको संख्या बढेको छ, अभिभावकहरु खुसी छन् ।’ ‘पहिलो अभिभावक भेला राखे, समस्या बुझे सोही अनुसार काम अगाडि बढाएको छु’ । अभिभावकको मागलाई सम्बोधन गर्दै ७ लाखको शौचालय निर्माण गरे । वर्षैदेखि पाँच कक्षासम्म चलेको सो विद्यालयमा आफू आउने वित्तिकै ६ कक्षाको अनुमति लिएर सुरु गरेको उनी बताउँछन् । विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरे पश्चात अहिले विद्यार्थीहरुले च्याउ खेती गर्न सुरु गरेका छन् ।

‘कुनैपनि मानिसमा काम गर्ने इच्छाशक्ति आवश्यक पर्दछ, जसको कारण काम गर्ने कार्यमा जोस र जाँगर आउँछ ।’ विद्यालय निर्माणको लागि पनि प्रशासन प्रमुखमा त्यो खालको ईच्छाशक्ति हुनु अनिवार्य छ,’ उनी भन्छन्, ‘यदि त्यो भावना नभएको खण्डमा कुनैपनि योजना लाई अगाडी बढाउन सकिदैन ।’ यसका लागि अहोरात्र खटिने खालको शिक्षक एवम् कर्मचारी भएमा मात्र आफुहरुमा पनि सहजता आउने उनको तर्क छ ।

हाल आफनो काम देखेर कोहलपुर नगरपालिका लगायत केहि शुभचिन्तक साथीहरुले आफुलाई कोहलपुरको कुनै जिर्ण विद्यालयमा सरुवा गरी विद्यालय बनाउन जिम्मा दिनुपर्ने ठट्टा समेत गरेको देख्दा आफुमा गर्व महशुस हुन्छ ।

उनी सफल योजनाकार तथा कुटनीतिज्ञका रुपमा पनि परिचित छन् । उनी लागि परेको काम हालसम्म कुनै योजना असफल नभएको उनी वताउँछन् । सापकोटा कोहलपुरको एक शैक्षिक गहनाका रुपमा परिचित छन् । उनी जस्ता असल एवम् सफल व्यक्तिहरुले नै विद्यालय प्रशासनका प्रमुख भएर अगाडी बढाउन सकेमा मात्र कोहलपुर मात्र होइन, बाँके जिल्लामा शैक्षिक क्षेत्रको हव बनाउन सकिन्छ ।