माओवादीले सहमति उल्लंघन गरेपछि मुख्यमन्त्री हटाउन लुम्बिनी कांग्रेसले देउवालाई गुहार्ने

आलोपालो सरकारको नेतृत्व गर्ने विगतको सहमति अनुसार नेकपा (माओवादी केन्द)ले लुम्बिनी प्रदेशको मुख्यमन्त्री नछाडेपछि नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले पार्टी सभापति गुहार्ने भएको छ।

आलोपालो सरकारको नेतृत्व गर्ने विगतको सहमति अनुसार नेकपा (माओवादी केन्द)ले लुम्बिनी प्रदेशको मुख्यमन्त्री नछाडेपछि नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले पार्टी सभापति गुहार्ने भएको छ।

नेकपा (एमाले) नेता शंकर पोखरेललाई मुख्यमन्त्रीबाट विस्थापन गर्दा  कांग्रेस र माओवादीबीच लुम्बिनी प्रदेश सरकारको नेतृत्व आधा-आधा कार्यकाल नेतृत्व गर्ने सहमति भएको थियो। तर, माओवादीले त्यसलाई उल्लंघन गरेपछि कांग्रेस संसदीय दलले पार्टी सभापति शेरबहादुर देउवालाई गुहार्ने निर्णय गरेको हो।

“दुवै पार्टीले सरकारको नेतृत्व आधा-आधा गर्ने भद्र सहमति माओवादीले पालना गरेन,” कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले भने, “भद्र सहमति कार्यान्वयन र पहल कदमीका लागि सभापतिज्यूलाई आग्रह गर्ने सर्वसम्मतिबाट निर्णय भएको छ।”

यसअघि कर्णाली प्रदेशमा पनि कांग्रेसले चर्को दबाबपछि मात्रै माओवादीले सहमति अनुसार कांग्रेसलाई सत्ता हस्तान्तरण गरेको थियाे ।