नवौं राष्ट्रिय खेलकुद : ३ हजार मिटर स्टिपलचेसमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्णपदक जिते

काठमाडौं ।
३ हजार मिटर स्टिपलचेसमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्णपदक जितेका छन् । दुर्गाले जितेकाे स्वर्ण नवाैं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशको पहिलाे हाे ।

बुढाले ८ मिनेट ५५.९ सेकेण्ड टाइमिङसहित स्वर्ण जितेका हुन् । एपीएफका अजित यादवले ९ मिनेट २१.१० सेकेण्डसहित रजत र त्रिभुवन आर्मी क्लबका सुवास कार्कीले ९ मिनेट २२.१५ सेकेण्डसहित कांस्य जिते ।

विजेता बनेपछि प्रतिक्रिया दिँदै उनले स्वर्ण पदक जित्छु भन्नेमा पहिल्यै विश्वस्त रहेको बताए । ‘मलाई स्वर्ण जित्छु भन्ने पहिलै थाहा थियो । पोखराको ट्रयाक राम्रो छ । यहाँको फास्ट ट्रयाक छ । जित्छु भन्ने लागेको थियो,’ दुर्गाले भने ।

भारतमा भएका प्रतियोगितासमेत खेलेका उनले आफू नेपाली भएको र नेपाली नागरिकता भएकाले नेपालको राष्ट्रिय खेलकुद खेल्न पाउने बताए ।

‘म रोजीरोटीका लागि भारत गएको थिएँ । मसँग नेपाली नागरिकता नै छ । मैले भारतको लागि पनि खेलेको थिएँ । उताबाट एनओसी ल्याएँ भने मैले नेपालका लागि पनि खेल्न पाउँछु ।’