उदयपुरमा प्रधानाध्यापकले ६ वर्षीय विद्यार्थीलाई बाँसको भाटाले कुटे

उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको आधारभूत विद्यालय केउरिनीमा शिक्षकबाट एक विद्यार्थी निर्घात कुटिएका छन्। विद्यालयका प्रधानाध्यापक जीवन श्रेष्ठले कक्षा १ मा अध्यनरत ६ वर्षीय बालक प्रमोद रोकामाथि निर्घात कुटपिट गरेका हुन्।

कुटपिटबाट ६ वर्षीय प्रमोदको शरीरका विभिन्न भागमा निलडाम बसेको छ। बिहीबार विद्यालयले आयोजना गरेको वक्तृत्वकला कार्यक्रममा पछाडि बसेर हल्ला गरेको भन्दै प्रधानाध्यापक श्रेष्ठले बालकलाई बाँसको भाटाले शरीरभरि निलडाम हुने गरी कुटपिट गरेको पीडितका बुवा राजु रोकाले बताए।

समान्य विषयमा आफ्नो नाबालक छोरालाई मरणासन्न हुने गरी कुटपिट गर्ने विद्यालयका प्रधानाध्यापकलाई कडा कारवाही हुनुपर्ने परिवारको मगा छ।

प्रअ भन्छन्: निलडाम हुने गरी पिटेको छैन 

विद्यालयका प्रधानाध्यापक जीवन श्रेष्ठले बालकलाई आफूले कुटपिट गरेको स्वीकार गरेका छन्। तर, उनले निलडाम हुने नपिटेको बताएका छन्।

‘फोटोमा भएजस्तो ढाडमा निलडाम हुने गरी कुटपिट गरेको छैन,’ प्रअ श्रेष्ठले भने, ‘फोटो नियतवश ईडिट गरेर सामाजिक सञ्जालमा हालिएको हो।’

यता पीडितका बुवा राजु रोकाले भने छोरालाई मरणासन्न हुने गरी कुटपिट गरेपछि छोरा बिरामी अवस्थामा रहेको बताएका छन्। उनले न्यायका लागि सरोकारवाला सबैलाई सहयोग गर्न र दोषी शिक्षकलाई कारबाही गर्नका लागि अनुरोधसमेत गरेका छन्।