रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित घोषणा (फाेटाे फिचर)

शुदाम शर्मा, रुकुम पश्चिम ।

रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । शुक्रबार जिल्लाका २३ महिनासम्मका सबै बालवालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसारका सबै खोप पाएको र आगामी दिनमा पनि पाउने निश्चित भएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

जिल्लामा १५ देखि २३ महिना उमेरका ३ हजार ५ सय बालबालिकाले नै सबै खोप पाएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

अधिकांशले खोप तालिका अनुसार खोप पाएको र छुटेका केही बालबालिकाहरुलाई खोजेर खोप लगाईएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाईजर अधिकृत कृष्ण खड्काले जानकारी दिए ।१५ देखि २३ महिना उमेरका सबै बालबालिकाले खोप पाईसकेको र जन्मेदेखि १५ महिनासम्मका बालबालिकाहरुले पनि उमेर अनुसारका खोप लगाईरहेको तथा भोलीका दिनमा पनि पाउने सुनिश्चित भएको उनको भनाई छ ।

सबै पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई घोषणाका लागि प्रदेशसंग अनुमति माग गरिएको थियो । प्रदेश खोप समन्वय समितिले अनुमति दिएपछि जिल्लालाई औपचारिक रुपमा खोप सुनिश्चित घोषणा गरिएको हो ।

रूकुम पश्चिम पूर्ण खोप सुनिश्चित घोषणा हुने देशको ६७ औं जिल्ला बनेको छ । जिल्ला समन्वय समितिका उपप्रमुख एवं खोप जिल्ला समन्वय समितिका संयोजक देववहादुर विकको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर बिष्ट, उपाध्यक्ष कमला रोका पुन, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका, नेपाली कांग्रेसका यज्ञवहादुर बिष्ट, नेकपा एमालेका रचना मल्ल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्लाको खोप सम्बन्धीको प्रतिवेदन स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाईजर अधिकृत कृष्णा खड्काले पेश गर्नुभएको थियो भने प्रदेशबाट प्राप्त जिल्ला खोप सुनिश्चित घोषणाको प्रमाणपत्र स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बिष्णुबहादुर बुढाथोकीले पढेर सुनाएका थिए ।

कार्यक्रमको संचालन स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीले गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सहयोग पुर्याउने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था र मिडियालाई सम्मान गरिएको थियो ।