Kohalpur Today Header Ads

जनसंख्यामा महिला धेरै, मतदातामा पुरुष




आगामी स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने भएका छन् । निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली तय गरेको छ, जसअनुसार ३० वैशाखको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन् ।

यो पाँच वर्षको स्थानीय निवार्चनमा झण्डै ३७ लाख बढी मतदाता हो । २०७४को स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए । यो पटक ३६ लाख ५९ हजार दुई सय ९९ सय बढेर १ करोड ७७ लाख पुगेको हो ।

आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालका अनुसार सबै जिल्लाबाट मतदाताको संख्या संकलन गरेर त्यसउपर छलफल, दावी विरोध र सच्याउने अवसर दिएर मतदाताहरुको अन्तिम नामावली तय गरिएको हो । २०७४ सालकै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता संख्या १ करोड ५४ लाख थियो । २०७४ सालमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको आधारमा भने २३ लाख मतदाता बढेका छन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

महिलाभन्दा पुरूष मतदाता धेरै

स्थानीय निर्वाचनका मतदातामा महिला भन्दा पुरुष धेरै छन् ।८९ लाख ९२ हजार १० पुरुष छन् भने ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् । अर्थात, २ लाख ५० हजार ४८० जना पुरुष मतदाता बढी छन् ।

जबकी राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्क अनुसार कुल जनसंख्यामा पुरूषभन्दा महिला धेरै छन् । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजाका अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।

जसमध्ये महिलाको संख्या एक करोड ४९ लाख एक हजार १६९ र पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार ३११ छ । अर्थात, कूल जनसंख्यामा पुरुषभन्दा महिलाको संख्या ६ लाख ९ हजार ८५८ ले बढी छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय जनसंख्या अध्ययन विभागका प्रमुख प्रा.डा.गोविन्द सुवेदी दुई वटा कारणले जनसंख्यामा महिला र मतदातामा पुरुष धेरै भएको हुन सक्ने बताउँछन् ।

एउटा, कारण युवा पुस्तामा पुरुष बढी हुने र अर्को, मतदाता नामावलीमा महिलाको नाम छुटेको हुन सक्ने । ‘युवा पुस्तामा पुरुषको जनसंख्या बढी हुन सक्छ । यसको कारण १०/१५ वर्षदेखि महिला भए भ्रूण हत्या गर्ने र पुरुष भए जन्माउने प्रवृत्ति छ’, उनी भन्छन्, ‘अहिले बालबालिकाको संख्या हेर्ने हो भने पनि महिलाको संख्या कम छ ।’

नेपालमा लिङ्ग छुट्टिएपछि भ्रूण हत्या बन्देज रहेको भए पनि महिला हुँदा नजन्माउने प्रवृत्ति रहेको उनले सुनाए । यस्तो प्रवृत्ति भारतमा पनि रहेको उनले सुनाए, ‘भारतमा १०० जना केटा जन्मिँदा ७० जना मात्रै महिला जन्मिन्छन् । किनभने छोरी हुँदा भ्रूण हत्या गर्छन् । नेपालमा पनि यस्तै भएको हुन सक्छ ।’

सुवेदीका अनुसार अर्को कारण मतदाता नामावलीमा महिलाको नाम छुटेको पनि हुन सक्छ । ‘हाम्रो समाजमा अझै पनि महिलालाई नामावलीमा छुटाउने समस्या पनि छ । यसको पनि केही प्रभाव हुन सक्छ’ उनले भने ।

मतदान केन्द्र पनि तोकियो

स्थानीय तह चुनावमा देशभर २१ हजार ९५५ वटा मतदात केन्द्र तोकिएको छ । निर्वाचन आयोगले १० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ वटा मतदात केन्द्र रहने जनाएको हो । एउटा मतदान स्थलमा एक भन्दा बढी केन्द्र पनि रहने छन् ।

सबैभन्दा धेरै मधेस प्रदेशमा ४ हजार १८९ मतदान केन्द्र रहने जनाएको छ । यस्तै सवैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३८५ वटा मतदान केन्द्र रहने छन् ।

बागमती प्रदेशमा ४ हजार ९५, प्रदेश १ मा ४ हजार ५१, लुम्बिनी प्रदेशमा ३ हजार ८३२, गण्डकी प्रदेशमा २ हजार ३०० र सुदूरपश्चिम प्रदेशमा २ हजार १०३ वटा मतदान केन्द्र रहने आयोगले जनाएको छ ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत १३ गते आइतबार