मन्त्री श्रेष्ठद्धारा कोहलपुरमा लालपूर्जा वितरण

कोहलपुर ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कोहलपुरमा लालपूर्र्जा वितरण गरिएको छ । बाँकेको कोहलपुर नगरपालिकाले माओवादी केन्द्रका संघिय साँसद महेश्वर गहतराज अथक, पूर्ण सुवेदी र केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने, नेकपा माओवादी केन्द्रका कोहलपुर नगर अध्यक्ष अवराज खड्का र कोहलपुर वडा नम्बर ६ का अध्यक्ष रामशरण थारु लगायतको टोलिले मन्त्रालयमा गई कोहलपुरमा लालपूर्जा वितरण गर्नुपर्छ भन्ने निवेदन दिएका थिए ।

सोही निवेदन अनुसार कोहलपुरमा अहिले लालपूर्जा वितरणको काम सुरु भएको हो । कोहलपुरमा लामोसमयदेखि लालपूर्जाको माग सहित विभिन्न राजनितिक दलहरुले निर्णय गरेतापनि यसलाई लालपूर्जा वितरण गरेनन् । कोहलपुर नगर प्रमुख लुट बहादुर रावतले पनि पहिलो चुनावी एजेण्डा पनि लालपूर्जा वितरण नै राखेका थिए तर पूरा गर्न सकेनन् ।

आइतबार कोहलपुर वडा नम्बर ३ को वडा कार्यालयमा गाउँब्लक क्षेत्रको जग्गाधनी दर्ता प्रमाण पत्र वितरण समारोह कार्यक्रम गरी ९८ जना व्यक्तिहरुलाई लालपूर्जा वितरण गरिएको थियो ।

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले देशभरी २५ वटा जिल्लामा लालपूर्जा वितरण कार्यक्रम सुरु भएको बताएकी छिन् । बाँकेका अन्य पालिका जनप्रतिनिधिहरुले भूमि सम्बन्धी काम प्रति चासो नदेखाएको उनको भनाई थियो ।

सो कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत, उपप्रमुख सञ्जु कुमारी चौधरी, नापी विभागका महानिर्देशक प्रकाश जोशी लगायतको उपस्थित रहेको थियो ।