सुन्दर कविता : त्यो फेरि पनि आउनेछ

देवकोटाले सुझाए झैँ
त्यो चन्द्रमा चढ्ने
गन्तव्य बोकेर आयो।

रिमालले भने झैँ
त्यो हिउँ र आगो भन्दा पनि
छोइने भएर आयो।

घिमिरेले कल्पे झैँ
काप ढुङ्गाको फोर्दै फोर्दै
त्यो पिपल बनेर पलायो।

त्यो पटक पटक आयो।

तर जसरी आए पनि
हिमाल हाँस्न सकिनन्
रारा मुस्कुराउन सकिनन्
अनन्त फैलिएका यी फाँटहरूमा
वायुको उन्मुक्त वयली चलेन
थाप्लोको बरियो
पैतालाका ठेला र
निधारबाट चुहिरहने
जीवनको शाश्वततामा
कतै फेरबदल आएन
त्यो केबल आयो मात्र
“शीरिषको फूल” कि सकम्बरीका
निकोटिनले पहेँलिएका पहेँला
अउँला झैँ त्यो
सारा आकृति र अनुहारबाटै
खुसी खोसेर लैजाने गरी
विशिष्टहरूका आँगनमा मात्र
बास माग्नलाई आयो
बसिरह्यो र हाम्री आमाको कोख
चिथोर्यो,चुस्यो र रित्यायो।

यस्तो लाग्छ
त्यो फेरि पनि आउनेछ
अब आउने त्यसलाई
फूलको बगैँचाभित्र सजाउनुपर्नेछ
आाँखाको नानीभित्र पसाउनुपर्नेछ
मेरो,तिम्रो र हामी सबैको
मन र मुटुभित्र बसाउनुपर्नेछ
ताकि उसलाई पटक पटक
आउन नपरोस्।