पृथ्वी जयन्ती सन्दर्भ कविता विशेष : यो देशका सर्जक हौ महामना




हिमाल पाखा वन शैल छन् हरा
छ फूल जस्तै कति रम्य यो धरा
यो राष्ट्र जोर्ने कम हैन योजना
“यो देशका सर्जक हौ महामना ।”

•१•

काली र मेची सब एकमा उनी
जोडेर माला नव रङ्गका बिनी
विवेकले राज्य बनाइयो घना
“यो देशका सर्जक हौ महामना ।”

•२•

आए पराई कति खोस्न यो जिमी
डटेर लड्ने शुर वीर हौ तिमी
साँच्चै थियो पौरुष आत्ममा पना
“यो देशका सर्जक हौ महामना ।”

•३•

यो देशको निम्ति सदैब चिन्तित
फुटाउने कार्य गरेन निन्दित
जोडेर राख्यो जसले सबैजना
“यो देशका सर्जक हौ महामना ।”

•४•

त्यो देन तिम्रो अझसम्म उच्च छ
नेपाल तिम्रो गुण गान गर्दछ
लगाउँने देश समेट्न चिन्तना
“यो देशका सर्जक हौ महामना ।”

•५•

पृथ्वी तिमीमा शिर यो झुकाउँदै
सलाम पुष्पाञ्जलि यो चढाउँदै
कर्तव्य तिम्रो गरियोस् विवेचना
“यो देशका सर्जक हौ महामना ।”

•६•

मिति :- २०७८/०९/२६
छन्द :- उपजाति ( इन्द्रवंशा र वंशस्थ )

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस २६ गते सोमबार