काेहलपुर ।
सन्त बहादुर नेपालीले नेतृत्व गरेको नेकपा (मसाल) जिल्ला समन्वय समिति बाँकेको संयाेजकमा जिवन चयन गरिएकाे छ । शनिबार भएकाे प्रथम भेलाले संयोजकमा जिवन र प्रवक्तामा मान बहादुर भण्डारीलाई चयन गरेको हाे । नेकपा ( मसाल ) लुम्बिनी प्रदेश समन्वय समिति प्रवक्ता कामरेड शशिधर भण्डारीले भेलाको उदघाटन गरेका थिए ।
उदघाटन मन्तव्यको क्रममा प्रवक्ता भण्डारीले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन विश्वमा झैं नेपालमा पनि रक्षात्मक अवस्थामा रहेको र त्यसलाई संगठित एवं सुरक्षित गर्दै अगाडि बढ्नुपर्ने जिम्मेवारी समन्वय समितिको काँधमा आएको बताएका थिए । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अध्यता कामरेड भण्डारीले संसदीय व्यवस्थामा भाग लिएर सकुशल क्रान्तिमा फर्कन रुसी समाजवादी कम्युनिस्ट पार्टीले मात्रै सक्यो, विश्वमा संसदीय प्रणालीमा भाग लिएका अन्य पार्टीहरु यो वा त्यो रूपमा दक्षिणपन्थी संशोधनवादमा पतन भएका उदाहरणको विस्तारित रूपमा चर्चा गरेका थिए ।
नेपालमा समेत क्रान्तिकारी कम्युनिस्ट आन्दोलन सामु दक्षिणपन्थी संशोधनवाद गम्भीर खतराको रूपमा रहेको प्रसंग कोट्याउदै त्यस विरुद्ध सम्झौताहिन संघर्ष गर्दै अगाडि बढ्नुपर्ने बेला आएको उनको भनाइ थियो । भेलाले गरेका निर्णयहरु पार्टीले प्रेसविज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । भेलाले देउवा गठबन्धन सरकार राष्ट्रघाती एवं साम्राज्यवादको दलाल सरकार भएको ठहर गरेको छ र त्यो प्रमाणित भैसकेको अवस्थामा समेत मोहन बिक्रम सिंह नेतृत्वको मसालले देउवा सरकारको समर्थन गरिरहने निर्णयको विरोध गरेको छ ।
भेलाले राष्ट्रियताको रक्षा एवं एमसीसी खारेजी सम्बन्धि एजेन्डा, जनतन्त्र सम्बन्धि एजेन्डा, असहज जनजिविका, बढ्दो मंहगी, भ्रष्टाचार, बलात्कार, अन्याय, अत्याचार र विभिन्न प्रकारका संसदीय विकृति विसंगतिका विरुद्ध संघर्षको लागि आन्दोलनात्मक एवं प्रचारात्मक रुपमा स्थानीय तहको निर्वाचन सम्बन्धि कार्यक्रम बनाउने निर्णय गरेको छ ।
जीवनको अध्यक्षता, कर्णालीको संचालन रसचेतको स्वागत मन्तव्यबाट सुरु भएको भेला उदघाटन पछि विभिन्न मोर्चाका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए । अतिथिको आसनबाट अनन्त, वैधानिक मोर्चाबाट रुपान्तर, किसान मोर्चाबाट निर्माण, युवक मोर्चा हिमाल, महिला मोर्चाबाट निष्ठा, साँस्कृतिक मोर्चाबाट हिमाल र विद्यार्थी मोर्चाबाट सनमले शुभकामना मन्तव्य राखेको विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्