नयाँ जनवादी क्रान्तिको कार्यभार




 – गौरीलाल कार्की

चरम दक्षिणपन्थी संशोधनवादी शक्तिमा रहेका एमाले र माओवादी केन्द्रले नेपालमा पुँजीवादी राजनैतिक क्रान्ति सम्पन्न भइसकेको सिद्धान्त पारित गरेका छन् । यस्ता शक्तिहरुले अब आधारभुत राजनीतिक परिवर्तनको आवश्यकता नभएको र आर्थिक क्रान्ति सम्पन्न गर्दै  समाजवादको स्थापना गर्नुपर्ने कोरा प्रचार गरिरहेका छन् । यिनको यो विचार स्पष्ट रूपमा नयाँ जनवादी क्रान्ति विरुद्धको विचार हो । विचारमा मात्रै होइन, यी शक्तिले व्यबहारमा समेत दलाल तथा नोकरशाही पुँजीवाद र सामन्तवादलाई झन्झन् बल पुग्ने गरेर हरेक क्रियाकलाप गरिरहेका छन् । त्यसैले अब यी शक्तिको नेतृत्व पंक्तिको सम्पुर्ण चिन्तन, विचार र व्यवहार प्रतिक्रियावादी रूपमा रुपान्तरण हुँदै गरेको स्पष्ट भएको छ । यिनिहरुले कम्युनिस्टको नाउँमा भ्रम फैलाउने, नेपाली क्रान्तिलाई विकृत तुल्याउने र मार्क्सवादलाई समाप्त पार्ने कार्य मात्रै गरेका छैनन्, नयाँ जनवादी क्रान्तिमाथि दमन गर्ने दिशातिर अगाडि बढ्ने पनि निश्चित छ । यो संकेत हिजो विप्लव समुहमाथिको तत्कालीन ओलि प्रचण्ड नेतृत्वको सरकारले लगाएको प्रतिबन्धले पनि केहि हदसम्म प्रष्ट हुन्छ ।

नेपाली समाज अहिले पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा गुज्रिरहेको छ । नेपाली जनतामाथि अहिले पनि दलाल तथा नोकरशाही पुँजीपति र सामन्ती वर्गको शोषण दमन चर्को रूपमा बढिरहेको छ । यस्तो परिस्थितिमा गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति नै हो । यस क्रान्तिको बाटो दीर्घकालीन सशस्त्र संघर्षको बाटो नै हो । नेपाली जनताले आधारभुत एवं न्युनतम रूपमा यो कार्यक्रम सफल गर्नैपर्छ । यद्यपि तत्काल यसको लागि आवश्यक परिस्थिति तयार भएको अवस्था छैन, त्यसैले नौलो जनवादी क्रान्तिको आधार तयार पार्न सहयोग पुग्ने गरि शान्तिपुर्ण एवं हस्तक्षेपकारी जनसंघर्ष एवं वर्गसंघर्षको चरणमा आन्दोलन उठान गर्नुपर्छ । यो अहिलेको मुख्य कार्यनीति हो । यो कार्यनीति हाम्रो न्युनतम कार्यक्रमको लक्ष प्राप्तिको लागि आधार तयार पार्ने ढाँचाको हुनुपर्छ ।

वर्तमान संसदीय राज्यसत्ता, संघीय गणतन्त्र र संविधानले जनताका सम्पुर्ण आधारभुत समस्या समाधान गर्न सक्दैन । यो संसदीय प्रणाली शोषक वर्गको प्रणाली हो । किनभने पहिलो, राजनीतिक र आर्थिक क्रान्तिको सम्बन्धलाई उपरिसंरचना र आधारको सम्बन्धका रुपमा बुझ्नु पर्दछ । राजनीति र अर्थतन्त्रमा मूलतः अर्थतन्त्रको भूमिका प्रधान हुन्छ तर पनि ती दुबैले एक अर्कोलाई प्रभावित पार्ने र बदल्ने काम गर्दछन् । वर्तमान अर्धसामन्ती अर्धऔपनिवेशिक तथा मुख्यतः नवऔपनिवेशिक उत्पादन सम्बन्धको आर्थिक आधार र अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको उपरिसंरचना बीच कुनै तात्विक भिन्नता छैन । यीनमा एकरुपता नै देखिन्छ । त्यसैले राजनीतिक क्रान्ति पुरा भैसक्यो भन्ने कुरामा कुनै तुक देखिन्न । दोस्रो, यहाँ राजनीति र अर्थतन्त्रको कुरा गर्दा अहिले संसदीय शक्तिहरुले जुन समाजवाद वा समाजवादउन्मुखको उल्लेख गरेका छन्, त्यो शब्दको दुरुपयोग मात्र हो । किनभने, हिजो पनि राज्यसत्तामा सामन्त, दलाल तथा नोकरशाही पुँजीवादको प्रभुत्व थियो, आज पनि छ र भोलि पनि उनीहरुले त्यसैलाई कायम राख्न गैरहेका छन् । तेस्रो, एवं प्रकारले आर्थिक क्षेत्रमा हिजो पनि दलाल तथा नोकरशाही पुँजीवादको प्रभुत्व थियो, आज पनि छ र भोलि पनि उनीहरुले त्यसैलाई कायम राख्ने कार्यदिशा निश्चित छ । जसले विश्व एवं भूमण्डलीकृत साम्राज्यवाद तथा विस्तारवादको नियन्त्रण तथा निर्देशनमा उदारीकरण, निजीकरण तथा खुलाबजार अर्थतन्त्रको मान्यतालाई अंगीकार गरेको छ त्यसले अर्थतन्त्रमा कदापी क्रान्ति गर्न सक्दैन । त्यसैले उनीहरुले प्रचार गर्ने गरेको ‘समाजवाद एवं समाजवादउन्मुख तथा आर्थिक क्रान्ति’ का शब्द पनि जनतालाई भ्रम पारेर सत्तामा रजाइँ गर्ने शिवाय अरु केही पनि होइनन् ।

प्रतिक्रियावादीलाई छोडेर अर्काथरी अवसरवादी तथा संशोधनवादीहरु के पनि भन्दछन् भने दलाल तथा नोकरशाही पुँजीवाद भने पनि पुँजीवाद नै हो र राष्ट्रिय पुँजीवाद वा औद्योगिक पुँजीवाद भने पनि पुँजीवाद नै हो । किन नयाँ जनवादी क्रान्तिको कार्यक्रम चाहियो भन्ने तर्क गरेर नयाँ जनवादी क्रान्तिको आवश्यकता नरहेको प्रचारप्रसार गरिरहेका छन् । त्यो तर्क पनि सर्वथा गलत छ । किनभने, पहिलो कुरा, दलाल तथा नोकरशाही पुँजीवाद र राष्ट्रिय औद्योगिक पुँजीवादमा गुणात्मक तथा मौलिक अन्तर छ । अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थामा रहेका मुलुकहरुमा दलाल तथा नोकरशाही पुँजीपति र सामन्तवर्गको नेतृत्वमा दलाल तथा नोकरशाही पुँजीवाद स्थापित रहेको हुन्छ । तर यहाँ राष्ट्रिय औद्योगिक पुँजीवाद तथा समाजवादउन्मुख पुँजीवादको स्थापना भने सर्वहारावर्गको नेतृत्वमा नयाँ जनवादी राज्यसत्ता स्थापना गरेर मात्र हुन सक्तछ । दोस्रो कुरा, दलाल तथा नोकरशाही पुँजीवाद साम्राज्यवादको अभिन्न अंग हो भने राष्ट्रिय औद्योगिक पुँजीवाद तथा समाजवादउन्मुख पुँजीवाद वैज्ञानिक समाजवादको अभिन्न अंग हो । तेस्रो कुरा, दलाल तथा नोकरशाही पुँजीवादले पुरानै राज्यसत्ता तथा साम्राज्यवादी तथा विस्तारवादी उत्पीडनलाई जारी राख्दछ भने राष्ट्रिय औद्योगिक पुँजीवाद तथा समाजवादउन्मुख पुँजीवादले वैज्ञानिक समाजवादमा जानका लागि वस्तुगत आधारहरु तयार पार्दछ ।

२१ औं शताब्दिको डेढ दशकको आजको विश्व युग साम्राज्यवाद र र्सवहाराक्रान्तिको भीषण संर्घषको युग हो । आजको युग विज्ञान र प्रविधिले युक्त युग पनि हो । आजको युग भूमण्डलीकृत साम्राज्यवादको युग हो । यो सँगै नेपालमा दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवादको अलवा भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवाद सहित कतिपय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको चलखेल, हस्तक्षेप एवं नवऔपनिवेशिक उत्पीडन तीव्ररुपमा बढ्दै गइरहेको छ । यी सबै शक्ति र तत्वहरु नेपालमा हुने नयाँ जनवादी क्रान्तिलाई ध्वस्त पार्नका लागि योजनाबद्ध तवरले लागिरहेका छन् । त्यसैले यी नयाँ जनवादी क्रान्तिका दुश्मन शक्तिहरु हुन् । श्रमजीवी मजदुर वर्ग, हरुवा, चरुवा, हली गोठाला, ग्रामीण सर्वहारावर्ग, निम्न पुँजीपति वर्ग एवं राष्ट्रिय पुँजीपती वर्ग नयाँ जनवादी क्रान्तिको प्रक्रियामा जनसमुदाय अन्तरगत पर्दछन् । यी नयाँ जनवादी क्रान्तिका मित्रशक्ति हुन् । मजदूर वर्ग नेपाली नयाँ जनवादी क्रान्तिको नेता हो । सुकुम्वासी, गरीव तथा निम्न मध्यम किसान नेपाली क्रान्तिका आधारभूत शक्ति हुन् । ढुलमुल चरित्र हुँदाहुँदै पनि धनि किसान तथा राष्ट्रिय पुँजीपती वर्ग नेपाली नयाँ जनवादी क्रान्तिका मित्रशक्ति हुन् ।

दलाल तथा नोकरशाही पुँजीपति वर्ग, सामन्त अर्थात् जमिन्दार वर्ग, अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद सितका नेपाली जनताको आधारभूत तथा प्रधान सबै खाले अन्तरविरोधहरुको समाधान नयाँ जनवादी क्रान्तिले नै गर्दछ । नयाँ जनवादको राज्यप्रणाली सर्वहारावर्गको नेतृत्व र आम जनसमुदायको संयुक्त अधिनायकत्वमा आधारित हुन्छ । यस प्रकारको राज्यप्रणाली सामन्तवाद र साम्राज्यवाद र विस्तारवाद विरोधी रहेको हुन्छ । यो राज्य प्रणाली सामन्तवाद, दलाल तथा नोकरशाही पुँजीपति वर्ग विरुद्ध परिलक्षित रहनेछ । नयाँ जनवादको शासन प्रणाली जनवादी केन्द्रियतामा आधारित हुनेछ । यो राज्यसत्ता जनताको जनवादी अधिनायकत्व अन्तरगत नयाँ जनवादी राज्यसत्ता मजदुरवर्ग, हरुवा, चरुवा, हली, गोठाला सहित ग्रामीण र्सवहारा वर्ग, किसान वर्ग, शिल्पकार, विभिन्न तहका निम्न पुँजीपति वर्ग र राष्ट्रिय पुँजीपति वर्गको संयुक्त राज्यसत्ता हो । आर्थिक पक्षको कुरा गर्दा नयाँ जनवादी क्रान्तिको आर्थिक कार्यक्रम कृषिको क्षेत्रमा सामन्ती भू-स्वामित्व तथा सामन्तवादी उत्पादन सम्बन्धको अन्त्य गरि जमिन जोत्नेको नाराका आधारमा क्रान्तिकारी भूमिसुधार गर्ने मान्यतामा आधारित रहेको छ । यसमा मध्यम तहका किसानहरुका हकहीतको सुरक्षा गरिन्छ । नयाँ जनवादले कृषि क्षेत्रमा वैज्ञानिक तथा प्राविधिक कृषि क्रान्तिको पक्षपोषण गर्दछ । उद्योग र वाणिज्य सहित समस्त वित्तीय क्षेत्रमा नयाँ जनवादले दलाल तथा नोकरशाही पुँजीवादी आर्थिक प्रभुत्वको अन्त्य र स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको विकासको मान्यता अवलम्बन गर्दछ । यस क्रान्तिले दलाल तथा नोकरशाही पुँजीको राष्ट्रियकरण गर्दछ । नयाँ जनवादले मुख्य रूपमा सवल, सक्षम र आत्मनिर्भर उत्पादन प्रणाली तथा राष्ट्रिय अर्थतन्त्रमा जोड दिन्छ । जनताका जनजीविकाका आधारभूत समस्याको समाधान गर्दछ र आमूल परिवर्तन यसको मुलमंत्र हो ।

साँस्कृतिक क्षेत्रमा नेपाल अर्धसामन्ती तथा अर्ध औपनिवेशिक अवस्थामा बदलिए यता नेपाली संस्कृति पनि देशको यो अवस्थाबाट प्रभावित रही आएको छ । तदनुसार नेपाली संस्कृति दुइ भागमा विभाजित रहेको छ, ती हुन् प्रतिक्रियावादी संस्कृति र जनवादी संस्कृति । नेपाली प्रतिक्रियावादी संस्कृति सामन्तवादी र साम्राज्यवादी विचारहरुको मेलबाट बनेको छ । यो संस्कृति जनविरोधी, अराष्ट्रिय र अवैज्ञानिक रहेको छ । त्यसैगरी जनवादी संस्कृति नेपाली जनवादी परम्परा र सर्वहारा अन्तर्राष्ट्रियतावादी मान्यताको मेलबाट बनेको हुन्छ । यो संस्कृति जनवादी, राष्ट्रिय तथा वैज्ञानिक रहेको छ र यसले प्रतिक्रियावादी संस्कृतिको विरोध गर्दछ । नयाँ जनवादी क्रान्तिको कार्यक्रमले माथि उल्लेखित राजनीतिक, आर्थिक तथा साँस्कृतिक पक्षको समग्रतामा वैदेशीक सम्बन्ध, न्यायिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा समेत गुणात्मक एवं बैज्ञानिक परिवर्तनको पक्षपोषण गर्दछ । यस क्रान्तिले वैदेशिक क्षेत्रमा भारतसितका सबैखाले असमान सन्धि तथा सम्झौताहरुको खारेज गरि नयाँ आधारमा नयाँ सम्बन्धको विकासमा जोड दिन्छ । यो जनवादी न्यायव्यवस्था, जनवादी शिक्षा प्रणाली र सामाजिक मुक्ति तथा सुरक्षाको पक्षमा रहेको छ ।

नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी नीति, विचार र सिद्धान्त सहितको क्रान्तिकारी कम्युनिस्ट पार्टी आवश्यकता पर्दछ । कम्युनिष्ट पार्टी मातहतका जनवर्गीय मोर्चा, संयुक्त मोर्चा लगायतका संगठनहरु हुन्छन् । तिनीहरुले क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । संयुक्त मोर्चा अन्तरगत यस प्रकारका जनवर्गीय मोर्चाका साथै विभिन्न प्रकारका देशभक्त, जनवादी, प्रगतिशील तथा वामपन्थि राजनीतिक दल वा शक्तिहरु पनि सामेल हुन सक्छन् । यी सबै संगठनहरु मध्ये कम्युनिष्ट पार्टीे भूमिका प्रमुख र नेतृत्वदायी हुन्छ । माथि भनिए झैं आजको युग साम्राज्यवाद र र्सवहाराक्रान्तिको युग हो । आजको युगका मार्क्सवाद, लेनिनवाद र माओ विचारधाराको सिद्धान्तद्वारा पथप्रदर्शित क्रान्तिकारी कम्युनिष्ट पार्टीले मात्र अहिलेको नयाँ प्रविधिको प्रयोग सहित नयाँ जनवादी क्रान्तिको नेतृत्व गर्न सक्छ ।

नेता माओत्सेतुङ्गले नयाँ जनवादी क्रान्तिको प्रक्रियामा कम्युनिष्ट पार्टी, संयुक्त मोर्चा र जनमुक्ति सेना जस्ता संगठनहरुलाई तीन जादुगरि हतियारको रुपमा प्रस्तुत गरेका थिए । यो कुरा नेपाली नयाँ जनवादी क्रान्तिका सर्न्दर्भमा पनि आवश्यक छ । यहाँनेर बुझ्नै पर्ने कुरा के हो भने कम्युनिष्ट पार्टी र्सवहारा वर्गको राजनीतिक संगठन हुनुपर्छ । नयाँ जनवादी क्रान्तिका लागि सर्वहारा वर्गको अग्रदस्ताको रुपमा विकसित अनुशासित कम्युनिष्ट पार्टीले मात्रै नेतृत्वदायी भूमिका निर्वाह गर्दछ । नेपालको कम्युनिस्ट आन्दोलनमा स्थापित कम्युनिस्ट पार्टीहरु ढुलमुले चरीत्रका रहेका छन् । कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादी प्रभाव रहेको छ । अहिलेको प्रमुख कार्य भनेको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको उठान र नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण नै हो । यो कम्युनिस्ट आन्दोलनभित्र दुइलाइनको संघर्षका बीचबाट एकता र संघर्ष मुख्यतः रुपान्तरणको प्रक्रियाबाट नै हुन्छ । लामो समयदेखिको यथा विश्लेषणको आधारमा पार्टी क्रान्तिकारी दिशामा रुपान्तरण हुन सक्दैन । समय र परिस्थिति अनुरुप विषयवस्तुलाई गतिशीलतामा विश्लेषण गर्नु जरुरी छ । यदि यही प्रक्रियामा पनि पार्टी क्रान्तिकारी दिशामा मुखरित हुनै सकेन वा झन्झन् अवसरवादी र संशोधनवादी दलदलमा जाकिदै गयो भने सचेत क्रान्तिकारी पक्षमा रहेका सम्पुर्ण नेता कार्यकर्ता र जनता पार्टी नेतृत्वको हिजोको विरासतको दौराको फेर समातेर त्यससँगै सति जाने आत्मघाती कार्य गर्न सक्दैनन् र गर्न पनि हुँदैन ।

कम्युनिस्ट आन्दोलनमा नीति, सिद्धान्त, विचार र क्रान्तिकारी पार्टी निर्माण मुख्य कुरा हो र पद, प्रतिष्ठा र व्यक्तिगत महत्वाकांक्षा गौण कुरा हुन् । आन्दोलनको न्युनतम लक्ष्य नयाँ जनवादी क्रान्ति भएकोले अहिलेको कार्यनीति त्यो क्रान्तिको कार्यभारको पुर्वाधार तयारी गर्ने ढाँचाको कार्यनीति हुन आवश्यक छ । त्यो कार्यनीति तत्काल समाज र यो राज्यव्यवस्थामा भएका तमाम विकृति, विसंगति, शोषण, दमन, अन्याय, अत्याचार, महंगी, भ्रष्टाचार, हत्या, हिंसा र बलात्कार विरुद्धको शान्तिपुर्ण एवं हस्तक्षेपकारी संघर्षको कार्यनीति हुनुपर्छ । एकातिर व्यवहार केवल पद, प्रतिष्ठा, संसद एवं सत्तामुखी हुने र अर्कोतिर संघर्षको नाउँमा वक्तव्यमुखी र खैराती मास्टरको चाल जस्तो संघर्षको कार्यनीतिले क्रान्तिकारी कार्यनीतिको प्रतिनिधित्व गर्न सक्दैन । त्यसैले अब व्यक्तिवादी प्रकारका आरोपप्रत्यारोप त्यागौं, कार्यनीतिमा सुधार गरौं, क्रान्तिकारी नीति, सिद्धान्त र व्यवहारका आधारमा एकता एकमनाका साथ अघि बढौं र क्रान्तिकारी कम्युनिस्ट आन्दोलन पुनर्निर्माणको प्रक्रियामा सबै गोलबन्द बनौं । यो नै आजको मुख्य कार्यभार हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन २८ गते शनिबार