कोहलपुरका विद्यालयलाई नगरपालिकाको निर्देशन: ३ गतेदेखि भर्ना खुल्ने, वैशाख १४ देखि पठनपाठन




कोहलपुर । कोहलपुर नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयलाई शैक्षिक सत्र २०८३ सञ्चालनसम्बन्धी निर्णय कार्यान्वयन तथा सहजीकरण गर्न निर्देशन दिएको छ।

नगर प्रमुखज्यूको उपस्थितिमा प्रधानाध्यापक, शिक्षक महासंघ, क्रिसा लगायत सरोकारवालासँग बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

नगरपालिकाले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीबाट जारी निर्देशनबारे छलफल गर्दै सोही आधारमा स्थानीय स्तरमा शैक्षिक कार्यक्रम अघि बढाउने जनाएको छ। निर्णयअनुसार विद्यालयहरूले शैक्षिक सत्र २०८३ को क्यालेन्डरअनुसार कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।

सूचनाअनुसार वैशाख १५ गतेभित्र शैक्षिक सामग्री निर्माण तथा व्यवस्थापन गर्नुपर्नेछ भने निःशुल्क पाठ्यपुस्तक खरिद तथा वितरणको काम पनि अगाडि बढाइनेछ। साथै विद्यालयहरूले वार्षिक कार्यतालिका तथा शैक्षिक योजना निर्माण गर्नुपर्नेछ।

विद्यालयको IEMIS प्रणालीमा शिक्षक विवरण, भौतिक संरचना तथा प्रशासनिक विवरण अद्यावधिक गर्न पनि नगरपालिकाले निर्देशन दिएको छ। यस्तै वैशाख ३ गतेदेखि नियमित भर्ना कार्यक्रम सञ्चालन गरी वैशाख १४ गतेदेखि पठनपाठन सुरु गरिने जनाइएको छ।

शिक्षकहरूको पेशागत क्षमता विकासका लागि शिक्षा शाखासँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ। शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले शुक्रबार तथा महिनाको अन्तिम दिन पूरा समय पठनपाठनको व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ।

त्यसैगरी शैक्षिक सत्र २०८२ का शिक्षक बिदा अभिलेख अद्यावधिक तथा प्रमाणीकरण गर्नुपर्नेछ। विद्यालय व्यवस्थापन समितिको म्याद समाप्त भएका विद्यालयलाई नयाँ समिति गठन वा पुनर्गठन प्रक्रिया अघि बढाउन समेत नगरपालिकाले निर्देशन दिएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख ३ गते बिहीबार