
जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ मा पूर्ववडाध्यक्ष प्रदीप महतो मृत अवस्थामा फेला परेका छन् । कमला सिँचाइ आयोजनाको पूर्वी नहरनजिकै रहेको तीन नम्बर पुलमा उनको शव भेटिएसँगै घटना रहस्यमय बनेको छ ।
प्रारम्भिक रूपमा दुर्घटनाजस्तो देखिएको उक्त घटनाले अहिले हत्या आशंकाको मोड लिँदै प्रहरीले सोही कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार मृतकको शरिरका विभिन्न भाग, विशेषगरी औंलातिर शंकास्पद चोटपटक देखिएको छ, जसले घटनालाई सामान्य दुर्घटनाभन्दा बाहिर लैजाने संकेत गरेको छ ।
प्रारम्भिक अनुसन्धानले हत्या नै हुनसक्ने आशङ्का गरिएकाे भन्दै प्रवक्ता न्यौपानेले पोस्टमार्टम रिपोर्टपछि मात्रै ठोस निष्कर्षमा पुगिने बताए ।
घटनास्थलमा १०/१२ वटा बियरसहित अन्य मादकपदार्थका खाली बोतल फेला परेको अनुसन्धानमा संग्लन प्रहरी अधिकारीको भनाइ छ ।
यसले महतोसहित ८/९ जनाको समूहले सामूहिक रूपमा मदिरा सेवन गरेको अनुमान गरिएको उनले बताए । तर, घटना लगत्तै उनीसँगै रहेका भनिएका सबै व्यक्ति सम्पर्कविहीन भएका छन् । उनीहरूको पहिचान खुलाउने र खोजी गर्ने कार्यलाई प्रहरीले उच्च प्राथमिकतामा राखेको जनाएको छ।
सूचना दिने नै गायब
घटनालाई अझै रहस्यमय बनाउने अर्को पाटो भनेको प्रारम्भिक सूचना प्रहरीलाई दिने व्यक्ति समेत हाल सम्पर्कविहीन हुनु रहेकाे प्रहरीकाे भनाइ छ । प्रहरीका अनुसार शव छ भन्ने सूचना दिने व्यक्ति नै अहिले बेपत्ता छन् ।
बुधबार राति करिब ११ बजे उक्त पुलमा महतोको शव फेला परेको प्रहरीको भनाइ छ । पोस्टमार्टमका लागि शवलाई प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।
मृतक महतो २०७४ सालको स्थानीय तहकाे निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट सबैला नगरपालिका–१२ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।
Nepalpress.com बाट साभार
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्