कोहलपुर १५ मा पनि ऐलानी जग्गाको नापजाँच सुरु

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १५ मा ऐलानी जग्गाको नापजाँच सुरु भएको छ । शनिबार औपचारिक कार्यक्रम गरी कोहलपुर १५ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको प्रति ऐलानी जग्गाको नापजाँच सुरु भएको हो ।

कोहलपुर नगरपालिका वडा नं. १५ का वडा अध्यक्ष दिपेन्द्र कुमार चौधरीले परनीपुर क्षेत्रबाट जग्गाको नापजाँच सुरु भएको बताए । जग्गाको नापजाँच र निस्सा वितरण सँगसँगै गरिने वडा अध्यक्ष चौधरीले जानकारी दिए ।

वडा अध्यक्षले निस्सा प्रमाणका लागि घरधुरी कर बुझाएको प्रमाण लिएर वडा कार्यालयमा आउन वडाले सबैलाई आग्रह समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष चौधरीका अनुसार वडामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी घरधुरी ८ सय २६ भन्दा बढी रहेको बताए ।

जसमा भूमिहीन दलित र सुकुम्बासीमा ७२ जनाले फारम भरेपनि १६ जनाको अन्यन्त्र पनि जग्गा रहेको पाइएपछि मालपोत कार्यालयले प्रमाणित गरेको वडा अध्यक्ष चौधरीले जानकारी दिए ।

यसअघि ८ सय २६ जनाले मात्रै अव्यवस्थित बसोबासीले फारम भरेपनि पछिल्लो पटक राष्ट्रिय भूमि आयोगले भदौ २९ गते ३५ दिने सूचना जारी गरेर छुटपुटलाई फारम भर्न समय दिएको थियो ।

त्यसक्रममा वडा नं. १५ मा थप ६० जनाले फारम भरेको वडा अध्यक्ष चौधरीले बताए । यस्तै कोहलपुर नगरपालिकामा करिव २० हजार घरधुरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार ती घरधुरीलाई लालपूर्जा वितरणको तयारीसहित पालिकाले जग्गा नापजाँचको कामलाई तीब्रता दिएको बताए ।

‘करिव २० हजार घरधुरीलाई लालपूर्जा वितरण गर्ने तयारीका साथ जग्गा नापजाँचको कामलाई तीव्रता दिइएको छ उनले भने–‘चालू आर्थिक वर्षसम्म जग्गा नापजाँचको सम्पूर्ण काम पूरा गर्ने योजना छ ।’

कुनै पनि नागरिक भूमिहीन भएर बस्न नपरोस् भन्ने संघीय सरकारको नीति रहेको र त्यही अनुसार राष्ट्रिय भूमि आयोगले समेत काम गरिरहेकाले पालिकाले पनि संघीय सरकारको नीति र भूमि ऐनलाई टेकेर काम गरिरहेको उनको भनाइ छ ।

अहिलेसम्म कोहलपुरका १, २, ५, ८, १० र १२ नम्वर वडाको नापजाँच पूरा भएको नगरस्तरीय भूमिहीन सम्वन्धी उच्च स्तरीय समितिका संयोजक वीरेन्द्र कुमार शाहले बताए ।

शाहका अनुसार वडा नं.३, ११, १४ को अन्तिम चरणमा पुगेको छ भने अव वडा नं. ९ मा नापजाँच शुक्रबारदेखि नापजाँच सुरु भएको छ । त्यसपछि वडा नं.४, ६, ७ र १३ को नापजाँच गरिने शाहले बताए ।

वडा नं. १५ को जग्गा नापजाँच उद्घाटन कार्यक्रममा सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्मा, १३ का वडा अध्यक्ष डम्वर खड्का, आर्थिक विकास समिति संयोजक अनिता बुढा, विभिन्न राजनीतिक दलका स्थानीय नेताहरु, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।