सुदाम शर्मा, कर्णाली व्युरो ।
सुर्खेत, बैशाख ३ गते । मध्यपश्चिम विश्वविद्यालयमा आयोजना हुन गइरहेको अन्तरराष्ट्रिय सम्मेलन-२०२६ लाई सफल बनाउन सिंगो विश्वविद्यालय परिवारलाई स्वयंसेवी भावनाका साथ सक्रिय हुन उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले आह्वान गरेका छ्न । सम्मेलन व्यवस्थापनका लागि गठित समितिको बैशाख ३ गते वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न बैठकमा उनले यस्तो आह्वान गरेका हुन । सम्मेलनको मिति नजिकिँदै गर्दा हालसम्मको कार्यप्रगति समीक्षा गर्दै आवश्यक सुझाव तथा पृष्ठपोषण लिन आयोजना गरिएको सो बैठकमा बोल्दै उपकुलपति गौतमले अन्तरराष्ट्रिय सम्मेलनलाई प्राज्ञिक मेलाका रूपमा व्याख्या गर्दै यसमा विश्वविद्यालयको समग्र छवि प्रतिबिम्बित हुने उल्लेख गरे । उनले सहभागी र पाहुनाहरूले विश्वविद्यालयका हरेक गतिविधि नजिकबाट अवलोकन गर्ने भएकाले हाम्रा मनोवृत्ति र व्यवहार दुवै उच्च स्तरको हुनुपर्नेमा जोड दिए । यस अवसरमा निर्धारित समय अगावै सम्पूर्ण तयारी सम्पन्न गर्न उनले सम्बन्धित सबैलाई निर्देशन समेत दिएका छ्न । उनले हालसम्म देखिएको टीम स्पिरिटप्रति समालोचनात्मक प्रशंसा व्यक्तगर्दै वास्तविक धन्यवाद भने सम्मेलन सफलतापूर्वक सम्पन्न भएपछि मात्र दिन योग्य हुने स्पष्ट पारे ।

बैठकमा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. पन्ना थापाले अन्तरराष्ट्रिय सम्मेलनलाई विश्वविद्यालयको साझा उत्सवका रूपमा लिँदै यसको सफलताका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए । त्यस्तै, रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले संस्थाको प्रतिष्ठा उँचो हुनेगरी जिम्मेवार र परिपक्व कार्यसम्पादन गर्न सम्बन्धित सबैलाई सुझाव दिए ।

बैठकमा अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक तथा सम्मेलन व्यवस्थापन समितिका संयोजक डा. यदुप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक तथा समितिका सदस्य सचिव डा. विष्णुकुमार खड्काले गरेका थिए । उक्त बैठकमा विश्वविद्यालय सेवा आयोगका सदस्य सहप्रा. डा. अमृतकुमार शर्मा गैरे, सम्मेलन व्यवस्थापन समितिका सल्लाहकार समेत रहेका विभिन्न संकायका डीनहरू प्रा. चन्देश्वरप्रसाद श्रीवास्तव, सहप्रा. डा. राजन सुवाल, सहप्रा. डा. पूर्णमान श्रेष्ठ, सहप्रा. डा. आनन्दप्रसाद सुवेदी, सहप्रा. डा. दिपकराज अधिकारी, कार्यकारी परिषद सदस्य उपप्रा. नारायणनाथ योगी लगायत सम्मेलन व्यवस्थापन समिति, प्राविधिक सहयोग समिति र अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।

सम्मेलनका क्रममा पाहुनाहरूको स्वागत, सत्कारसँगै नेपाल र यस क्षेत्रको मौलिक सभ्यता र संस्कृतिको समुचित प्रस्तुति गर्नुपर्नेमा समेत बैठकमा जोड दिइएको विश्वविद्यालयका सूचना अधिकारी शेर बहादुर केसिले जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्