कृष्ण मावि अब्बल: विएलईमा उत्कृष्ट नतिजापछि शिक्षक सम्मानित




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ मा अवस्थित कृष्ण माध्यमिक विद्यालय ले नगर स्तरीय कक्षा ८ को विएलई (द्यीभ्) परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएपछि शिक्षकहरूलाई सम्मान गरेको छ ।

विद्यालयले शैक्षिक सत्र २०८२ को नतिजा सार्वजनिक गर्ने अवसर पारेर आयोजना गरेको कार्यक्रममा शिक्षकहरूको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

नगर स्तरीय परीक्षामा ९८ प्रतिशत नतिजा ल्याउँदै पालिकाभरकै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक दिलिप वलीले जानकारी दिए ।

उनले विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनका पछाडि शिक्षकहरूको निरन्तर मेहनत, लगनशीलता र समर्पण प्रमुख कारण रहेको उल्लेख गरे । साथै उनले वडा अध्यक्ष बद्रिप्रसाद जैसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर चन्द र अभिभावक र सम्पूर्ण सरोकारवालाको सहयोगले पनि यो उपलब्धि सम्भव भएको बताए ।

शिक्षकहरूमा थप उत्साह र प्रेरणा जागृत हुने भन्दै विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने लक्ष्य लिएको पनि प्रअ वलीले बताए ।

यस्तै कार्यक्रममा भिम कमला अक्षय कोष र तिला दसौदी अक्षय कोषको ब्याज रकमबाट विद्यार्थीहरूलाई नगद तथा स्टेशनरी सामग्री वितरण गरिएको थियो । आर्थिक रूपमा कमजोर तर अध्ययनमा मेहनती विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सहायक प्रअ विरेन्द्र मल्लले जानकारी दिए । छात्रवृत्तिका रूपमा वितरण गरिएको उक्त सहयोगले विद्यार्थीहरूको अध्ययनमा थप हौसला मिल्ने अपेक्षा गरिएको बताए ।

यस्तै कक्षा १२ का विद्यार्थीहरूलाई विदाइ समेत गरिएको थियो । विद्यालयमा अध्ययन पूरा गरी उच्च शिक्षाको यात्रामा अघि बढ्न लागेका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै सम्मानपूर्वक विदाइ गरिएको थियो । शिक्षक तथा अभिभावकहरूले विद्यार्थीहरूलाई अनुशासित, मेहनती र जिम्मेवार नागरिक बन्न सहायक प्रअ मल्लले प्रेरित गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार