कोहलपुर–८ बाँकेका भुम बहादुर भण्डारीले कोहलपुर नगरपालिकाका नगर प्रमुखलाई खुला पत्र लेख्दै आधुनिक बसपार्क परिसरमा अत्यावश्यक प्रतीक्षालय निर्माण गर्न माग गरेका छन्। उनले ठूलो लगानीमा निर्माण भएको आधुनिक बसपार्क सञ्चालनमा आए पनि यात्रु तथा सर्वसाधारणका लागि आधारभूत सुविधा अझै अपुग रहेको उल्लेख गरेका छन्।
पत्रमा बसपार्क परिसरमा घाम, पानी र प्रतिकूल मौसमबाट जोगिन बाहिरी क्षेत्रमा व्यवस्थित प्रतीक्षालय नहुँदा यात्रुहरू समस्यामा परेको जनाइएको छ। हाल टर्मिनल भवनभित्रको बन्द प्रतीक्षालय मात्र उपलब्ध रहेकाले बाहिरी खुला तथा शीतल स्थानको आवश्यकता महसुस भएको उनले बताएका छन्।
तराई क्षेत्रको अत्यधिक गर्मी र वर्षालाई ध्यानमा राख्दै बसपार्कभित्र कम्तीमा ४–५ वटा आधुनिक प्रतीक्षालय यथाशीघ्र निर्माण गर्नुपर्ने माग गरिएको छ। ट्रस्ट मोडल वा सार्वजनिक–निजी साझेदारी (PPP) मार्फत निर्माण गर्दा आर्थिक भार कम हुने र दिगोपन सुनिश्चित हुने सुझाव समेत दिइएको छ।
यस्ताे छ खुल्ला पत्र
मिति: २०८३/०१/०२
श्रीमान नगर प्रमुखज्यू
कोहलपुर नगरपालिका कार्यालय कोहलपुर, बाँके
विषय: आधुनिक बसपार्क परिसरमा अत्यावश्यक प्रतीक्षालय (Waiting Area) निर्माण सम्बन्धि खुल्ला पत्र,
महोदय,
सविनय निवेदन यो छ कि, कोहलपुर नगरपालिकाको अत्यन्तै महत्वपूर्ण तथा दीर्घकालीन सोचसहित ठूलो लगानीमा निर्माण गरिएको कोहलपुरको आधुनिक बसपार्क बहुउपयोगी पूर्वाधारको संरचना हो। निर्माण सम्पन्न भई संचालनमा आएको लामो समय बितिसक्दा यस बसपार्कले अनेकौं घाम, पानी तथा मौसमीय चुनौतीहरू सामना गर्दै आएको छ। यद्यपि, यसको सम्पूर्ण संरचना अझै अपेक्षित रूपमा पूर्ण उपयोगमा आउन सकेको अवस्था देखिएको छैन।
यसको उपयोगमा विविध प्राविधिक तथा व्यवहारिक कारणहरू हुनसक्ने भए तापनि, बसपार्क लाई ब्यबहारिक रुपमा प्रयोग गर्ने सर्वसाधारण नागरिक, यात्रु, आगन्तुक पाहुना तथा व्यवसायीहरूका लागि आधारभूत सुविधा उपलब्ध गराउने विषयमा अझै सुधारको खाँचो स्पष्ट रूपमा महसुस गरिएको छ।
विशेषगरी, बसपार्क परिसरमा आउने जाने व्यक्तिहरूका लागि केही समय विश्राम लिन, घामपानीबाट बच्न, वा शान्त वातावरणमा बस्न मिल्ने खुला तथा व्यवस्थित प्रतीक्षालय (Waiting Area) को अभाव अत्यन्तै खड्किएको छ। हाल टर्मिनल भवनको बन्द संरचना भित्रको प्रतीक्षालयमा कोलाहलपूर्ण वातावरण बाहेक बाहिर कुनै व्यवस्थित, शीतल तथा सुरक्षित स्थान उपलब्ध छैन। यसले यात्रुहरूको अनुभवमा प्रत्यक्ष असर पारिरहेको छ।
तराई क्षेत्रको प्रचण्ड गर्मी, वर्षा तथा अन्य प्रतिकूल मौसमीय अवस्थालाई मध्यनजर गर्दै, बसपार्कभित्र कम्तीमा ४/५ वटा आधुनिक तथा व्यवस्थित प्रतीक्षालयहरू यथाशीघ्र निर्माण गरिनु अत्यन्त आवश्यक देखिन्छ। यस्ता प्रतीक्षालयहरू ट्रस्ट (Trust) मोडल वा सार्वजनिक-निजी साझेदारी (PPP) अवधारणामार्फत निर्माण गर्दा नगरपालिकालाई आर्थिक भार कम पर्ने साथै दिगोपन पनि सुनिश्चित हुनसक्छ।
यस किसिमका साना तर प्रभावकारी पूर्वाधार विकासले बसपार्कको समग्र उपयोगिता, सेवा स्तर तथा नगरको छवि उकास्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु। अतः, यस विषयलाई गम्भीरतापूर्वक विचार गरी आवश्यक पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
धन्यवाद नमस्कार !
भवदीय,
भुम बहादुर भण्डारी कोहलपुर ८ बाँके
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्