सकियो बाँसगढी महोत्सव, झण्डै १ लाखले गरे अवलोकन

रावन विश्वकर्मा ।

वाईवाई पाँचौँ बाँसगढी महोत्सव झण्डै १ लाख दर्शकले अवलोकन गरेका छन् । “घुम्न जाउ बाँसगढी महोत्सव” भन्ने मुल नारा सहित यहि फागुन १६ गते देखि २६ गते सम्म सञ्चालनमा आएको महोत्सवको झण्डै १ लाख दर्शकहरुले अवलोकन गरेको महोत्सव मुल समिति संयोजक रामसिङ थारुले जानकारी दिनुभयो । मेलामा २ करोडको कारोबार गर्ने लक्ष्य राखिएकोमा झण्डै १ करोड बराबर कारोबार भएको अनुमान गरिएको थारुले बताउनु भयो । लामो समय कोरोनाले थलिएको भिषम परिस्थितीमा महोत्सव आयोजना गरिएको भए पनि महोत्सव सफल भएको आयोजक बाँसगढी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बद्री बरालले बताउनु भयो । ‘हामीले ठुलो साहस गरेर मेला लगाएका हाैँ बरिष्ठ उपाध्यक्ष बरालले भन्नु भयो मेला सफल हुँदा ज्यादै खुसी छौँ’ ।

महोत्सवको विहिबार समापन गरिएको छ । सिजी फुड्स ईन्टरप्राइजेट प्रालीको मुख्य प्रयोजन र बाँसगढी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भएको महोत्सवको संघका अध्यक्ष रामसिङ थारुले समापन गर्नु भयो । लुम्बिनी प्रदेस सभा सदस्य कविराम थारु, बाँसगढी नगरपालिकाका उपप्रमुख सुष्मा चौधरी, बिभिन्न राजनितिक दल, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधी लगायतको सहभागितामा मेलाको समापन गरिएको थियो ।

समापन कार्यक्रममा मेला सफल बनाउन योगदान पुर्याउने संघ संस्था तथा व्यक्तित्वहरुलाई माँयाको चिनो दिएर सम्मान समेत गरिएको बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेलले बताउनु भयो । मेलाको समापनको दिन राष्ट्रिय कलाकार ज्योती मगर र नविन पौडेलको प्रस्तुति हेर्न हजारौँ दर्शकहरुको सहभागिता रहेको मेला प्रचार प्रसार उपसमिति संयोजक एकनारायण अधिकारीले जानकारी दिनुभयो । महोत्सवमा ज्योती मगर नविन पौडेलको प्रस्तुतिले महोललाई गर्मागमी बनायो । ज्योती मगरको छोटो छोटो पहिरण र ठुम्काले युवाहरुलाई थामि नसक्नु बनायो ।