नेपाली कांग्रेसका नवनिर्वाचित सभापति नारायण प्रसाद गौडेलले बाँके कांग्रेसमा अब कुनै गुट नरहने बताएका छन् । निर्वाचित भएपछि आज पार्टी कार्यालय नेपालगञ्जमा पत्रकार सम्मेलन गरेका गौडेलले नेतृत्वमा आउनका लागि गरिएका प्रतिष्पर्धा र प्रयासहरुलाई विर्सेर अब सिंगो पार्टी पंक्ति एकजुट भएर सबल, सुदृढ र चलायमान कांग्रेस बनाउन लागिपर्ने बताए ।
पत्रकारहरुको जिज्ञासामा गौडेलले पार्टीलाई गतिशील बनाउन सबैलाई मिलाएर लैजाने बताए । प्रेस नोट सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा कार्यसमितिसहित उपस्थित भएका सभापति गौडेलले कांग्रेसलाई चुनावमा कसैसंग पनि गठबन्धन गर्न आवश्यक नरहेको स्पष्ट पारे । कुनै कुनै वडा वा पालिकामा आवश्यकताका आधारमा अन्य दलसंग समीकरण बन्ने सम्भावना रहेपनि बाँकेमा चुनावी गठबन्धनको जरुरत नरहेको बताए । सबैलाई एकताबद्ध भई पार्टी निर्माणमा लाग्न आह्वान गर्दै गौडेलले भने, “अधिवेशनमा जीत हासिल गर्ने र उपविजेता बन्ने सबैलाई समेटेर उर्जावान कांग्रेस बनाउन दृढ संकल्पका साथ अगाडि बढ्नेछु । सुदृढ र संगठित कांग्रेसभित्र मात्रै हामी सबैको उज्ज्वल भविष्य सुरक्षित हुने तथ्यलाई हृदयंगम गर्दै सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई एकतावद्ध भई पार्टी निर्माणमा लाग्न आह्वान गर्दछु ।”
सभापति गौडेलले आगामी स्थानीय, संघ र प्रदेशका निर्वाचनहरुमा कांग्रेसलाई जिताउने अर्जुनदृष्टिका साथ कार्यतालिका बनाएर योजनाबद्ध ढंगले पार्टीलाई अगाडि बढाउने बताए । पार्टीभित्र उच्च मूल्यांकनको परिपाटी बसाउने दृढता व्यक्त गरेका सभापति गौडेलले नेता कार्यकर्ताहरुको आत्मबल बढाउँदै लैजान सबैको आत्मसम्मान र स्वाभिमानको हेक्का राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “कसैमाथि पनि अपमान र अन्याय हुने अवस्था सिर्जना हुन दिनेछैन । ‘स्वाभीमानी कांग्रेस’ भएर पार्टी जीवनमा अग्रसर हुने वातावरण सिर्जना गर्नेछु ।” उनले पार्टीभित्र जोडिन नसकेका व्यक्तित्वहरुलाई पनि जोडेर संगठित कांग्रेस बनाउने अभिभाराका साथ अहोरात्र खट्ने बताए ।
पत्रकार सम्मेलनमा गौडेलले पार्टीभित्रका विकृती, विसंगती र अराजक गतिविधिहरुलाई निस्तेज पार्दै अनुशासित र मर्यादित संगठन बनाउनतर्फ लाग्ने, पार्टीको मुखपत्र प्रकाशन गरी पार्टीका गतिविधिहरु जनतासमक्ष पुर्याउने, पार्टी कार्यालयबाट सञ्चालन गरिने विभिन्न क्रियाकलापहरुलाई प्रविधिमैत्री बनाउने, समावेशिताका आधारमा सबैलाई समावेश गरी अवसर प्रदान गर्ने, संविधान पिता स्वर्गीय सुशील कोइरालाको शालिक उपयुक्त स्थानमा स्थापना गर्न पहल गर्ने लगायतका योजना सुनाए ।आफूलाई विजयी बनाउन सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै सभापति गौडेलले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
पत्रकार सम्मेलनमा उपसभापतिद्वय गोपाल प्रसाद अधिकारी र कृष्ण बहादुर कार्की, सचिवद्वय सुधांशु कोइराला र सञ्जु कुमारी चौधरी, सहसचिव रेनु सिंह ठाकुर, कार्यसमिति सदस्यहरु, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, लुम्बिनी प्रदेश कमिटी सदस्य प्रेम केसी लगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।
हेर्नुस् गौडेलको प्रेस नोट
प्रेस नोट
मितिः २०७/८११/२४
आदरणीय पत्रकारज्यूहरु,
जय नेपाल
नेपाली कांग्रेस बाँकेको सभापतिमा मलाई ठूलो विश्वासका साथ निर्वाचित गरी गहन जिम्मेवारी सुम्पिनुभएकोमा सबै क्षेत्रीय प्रतिनिधिज्युहरुप्रति हार्दिक आभार र कृतज्ञता प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछु । मलाई नेतृत्वमा ल्याउन अहोरात्र खट्ने सबै नेता गण, कार्यकर्ता र शुभेच्छुकहरुप्रति कृतज्ञ छु । अधिवेशनलाई भब्य र सभ्य तरिकाले सम्पन्न गर्न अहम् भूमिका निभाउनुहुने निर्वाचन समितिसंगै प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दछु ।
पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धामा हार जीत स्वभाविक हो । आन्तरिक लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचनलाई स्वभाविक प्रक्रिया ठान्दै अब हामी सबै कांग्रेसजन अझ सुदृढ र सबल कांग्रेस बनाउन लाग्नुपर्दछ । अधिवेशनमा जीत हासिल गर्ने र उपविजेता बन्ने सबैलाई समेटेर उर्जावान कांग्रेस बनाउन दृढ संकल्पका साथ अगाडि बढ्नेछु । सुदृढ र संगठित कांग्रेसभित्र मात्रै हामी सबैको उज्ज्वल भविष्य सुरक्षित हुने तथ्यलाई हृदयंगम गर्दै सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई एकतावद्ध भई पार्टी निर्माणमा लाग्न आह्वान गर्दछु ।
प्रतिष्पर्धामा जीत हार हुनु स्वभाविक प्रक्रिया भएकाले आन्तरिक निर्वाचनका क्रममा नेतृत्वमा आउन गरिएका सबै पर्यत्नहरुलाई अब उर्जामा बदल्दै सबल, गतिशील र चलायमान कांग्रेस बनाउन आजैदेखि मन, बचन र कर्मले प्रतिबद्ध बन्न म सबै नेता कार्यकर्ताहरुलाई अपिल गर्दछु । “हामी सबै अट्ने र हामी सबैले ‘अरु सबैलाई’ जित्ने कांग्रेस” बनाउनका निम्ति सबैको मेहनत जरुरी छ । नेपाली कांग्रेस बाँकेको गरिमालाई अझ उचाईमा पु¥याउन सभापतिका हैसियतले मेरो पूरापूर इमान्दार र भगीरथ पर्यत्न रहनेछ ।
आगामी स्थानीय, संघ र प्रदेशका निर्वाचनहरुमा कांग्रेसलाई जिताउने अर्जुनदृष्टिका साथ कार्यतालिका बनाएर योजनाबद्ध ढंगले पार्टीलाई अगािड बढाउनेछु । बाँके जिल्लाका सबै वडा, स्थानीय तह, प्रदेश निर्वाचन र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कांग्रेसलाई विजयी बनाई जिल्लाभर चारतारे झण्डा फरफराउने गरी म र मेरो नेतृत्वको टिम लाग्नेछ । पार्टीभित्र जोडिन नसक्नुभएका तमाम व्यक्तित्वहरुलाई पनि जोडेर संगठित कांग्रेस बनाउने अभिभाराका साथ म अहोरात्र खट्नेछु ।
पार्टीभित्र उच्च मूल्यांकनको परिपाटी बसाउन लाग्नेछु । नेता कार्यकर्ताहरुको आत्मबल बढाउँदै लैजान सबैको आत्मसम्मान र आत्मस्वाभिमानको हेक्का राख्नेछु । कसैमाथि पनि अपमान र अन्याय हुने अवस्था सिर्जना हुन दिनेछैन । ‘स्वाभीमानी कांग्रेस’ भएर पार्टी जीवनमा अग्रसर हुने वातावरण सिर्जना गर्नेछु । पार्टीका सबै भ्रातृ तथा शुभेच्छुक संगठनहरुलाई क्रियाशील बनाउने कार्ययोजनाका साथ मेरो नेतृत्वको जिल्ला कार्यसमिति क्रियाशील रहनेछ ।
पार्टीभित्रका विकृती, विसंगती र अराजक गतिविधिहरुलाई निस्तेज पार्दै अनुशासित र मर्यादित संगठन बनाउनतर्फ लाग्नेछु । पार्टीको मुखपत्र प्रकाशन गरी पार्टीका गतिविधिहरु जनतासमक्ष पुर्याउने, पार्टी कार्यालयबाट सञ्चालन गरिने विभिन्न क्रियाकलापहरुलाई प्रविधिमैत्री बनाउने, समावेशिताका आधारमा सबैलाई समावेश गरी अवसर प्रदान गर्ने, संविधान पिता स्वर्गीय सुशील कोइरालाको शालिक उपयुक्त स्थानमा स्थापना गर्न पहल गर्ने लगायतका योजना हामीसंग छन् । यी अभिष्टहरु हासिल गर्न आजैका दिनदेखि हामी इमान्दारपूर्वक क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।
जय नेपाल
नारायणप्रसाद गौडेल
सभापति, नेपाली कांग्रेस बाँके
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्