कोहलपुर । नेपाल गोजुरियो कराँते दो–संघ, बाँकेको आयोजनामा कोहलपुरमा प्रथम लुम्बिनी प्रदेशस्तरीय खुल्ला कराँते प्रतियोगिता–२०८३ हुने भएको छ।
कोहलपुर नगरपालिका–३, मदनचोकस्थित कोहलपुर बागेश्वरी ई. मि. स्कुलमा भदौ १४ गते प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रदेशका विभिन्न जिल्लामा रहेका कराँते खेलाडीलाई एउटै मञ्चमा प्रतिस्पर्धा गराउने तथा नयाँ खेल प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिम तथा खेलाडीलाई आयोजकले सहभागिताका लागि आह्वान गरेको छ। प्रशिक्षकहरूले आफ्नो टिम सहभागी गराउन संघले आग्रह गरेको छ।
प्रतिखेलाडी दर्ता शुल्क १ हजार ५ सय रुपैयाँ तोकिएको छ भने टिम दर्ताको अन्तिम मिति २०८३ भदौ १० गते तोकिएको आयोजकले जनाएको छ। प्रतियोगिताको टाइसिट भने भदौ १२ गते सार्वजनिक गरिनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद पुरस्कारसहित पदक, प्रमाणपत्र र कराँते टी–सर्ट प्रदान गरिनेछ। स्वर्ण पदक विजेतालाई ९ हजार रुपैयाँ, रजत पदक विजेतालाई ७ हजार रुपैयाँ तथा कांस्य पदक विजेतालाई ८ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
त्यसैगरी उत्कृष्ट टिमतर्फ प्रथम हुनेलाई ५ हजार रुपैयाँ, द्वितीय हुनेलाई ३ हजार रुपैयाँ र तृतीय हुने टिमलाई २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी सबै खेलाडीलाई टी–सर्ट तथा पार्टिसिपेन्ट सर्टिफिकेट उपलब्ध गराइनेछ। भदौ १४ गते बिहान ९ बजेदेखि खेलाडीका लागि खानाको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। सिनियरतर्फ २ हजार रुपैयाँ र जुनियरतर्फ १ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, प्रमाणपत्र, खाना तथा नास्ताको व्यवस्था गरिएको छ।
आयोजकका अनुसार सहभागी खेलाडी तथा प्रशिक्षकले बसोबास र खानाको आवश्यक व्यवस्था आफैं गर्नुपर्नेछ। खेलाडीले कुमितेसहित आवश्यक व्यक्तिगत खेल सामग्रीसमेत आफैं व्यवस्था गर्नुपर्नेछ।
प्रतियोगितामा सहभागी खेलाडीका लागि तोकिएको ड्रेस अनिवार्य गरिएको छ। निर्धारित समयमा इन्ट्री नगर्ने खेलाडीलाई प्रतियोगितामा सहभागी नगराइने आयोजकले स्पष्ट पारेको छ। प्रतियोगिताका क्रममा कुनै विवाद उत्पन्न भएमा आयोजकको निर्णय नै अन्तिम हुने सूचनामा उल्लेख छ।
नेपाल गोजुरियो कराँते दो–संघ, बाँकेका अध्यक्ष निम प्रसाद खनालले प्रदेशस्तरमा कराँते खेलको विकास, खेलाडीको क्षमता पहिचान तथा नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए।
कोहलपुरमा पहिलोपटक आयोजना हुन लागेको प्रदेशस्तरीय खुल्ला कराँते प्रतियोगिताले स्थानीय खेलकुद गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ। विभिन्न जिल्लाका खेलाडीको सहभागिताले कोहलपुरलाई खेलकुद प्रतिभा र प्रतिस्पर्धाको केन्द्रका रूपमा विकास गर्नसमेत सहयोग पुग्ने आयोजकको विश्वास छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्