सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत विभिन्न निर्देशनालयमा कार्यरत अधिकृतद्वय शेरबहादुर केसी र रचना विष्टलाई शुक्रबार वीरेन्द्रनगर, सुर्खेतस्थित निर्देशनालयमा आयोजित औपचारिक कार्यक्रमबीच विदाइ गरिएको छ । सोही अवसरमा सरुवा भई आएका प्रशासन अधिकृत सिन्धु दाहाल र मुख्य सहायक (लेखा) दिपा केसीलाई स्वागत गरिएको छ ।
निर्देशनालयमा प्रशासन अधिकृतका रूपमा कार्यरत केसी र लेखा अधिकृत विष्टले छोटो अवधिमा विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा समग्र विकासमा पुर्याएको योगदानको उच्च कदर गर्दै कदरपत्रसहित सम्मान गरिएको हो । केसीलाई ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङ केन्द्रीय विभाग र विष्टलाई केन्द्रीय पुस्तकालयमा पदाधिकारसहित सरुवा गरिएको छ ।
कार्यकारी निर्देशकत्रय डा. विष्णुकुमार खड्का, डा. यदुप्रसाद ज्ञवाली र डा. लक्ष्मीप्रसाद आचार्यद्वारा हस्ताक्षरित कदर तथा प्रशंसापत्रमा अधिकृतद्वयले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा अनुसन्धानात्मक विकासमा पुर्याएको योगदान, निष्ठा, इमानदारी, समर्पण र उच्च कार्यसम्पादनको प्रशंसा गरिएको छ ।
कार्यक्रममा योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध तथा अनुसन्धान निर्देशनालयका कार्यकारी निर्देशक डा. ज्ञवाली र पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक डा. आचार्यले अधिकृतद्वयको कार्यसम्पादन, अनुभव र योगदानको प्रशंसा गरे ।
उनीहरूले संस्थामा रहँदा केसी र विष्टले देखाएको जिम्मेवारीबोध, सहकार्य, इमानदारी र सेवाभाव विश्वविद्यालयका लागि स्मरणीय रहेको उल्लेख गरे । कर्मचारीको दक्षता, अनुभव र योगदानको सम्मान गर्नु संस्थागत संस्कार भएको बताउँदै उनीहरूले नयाँ जिम्मेवारीमा सरुवा भई आएका कर्मचारीलाई प्रभावकारी सेवा प्रवाहका लागि शुभकामना व्यक्त गरे ।
विदाइ हुने अधिकृतद्वयलाई आगामी जिम्मेवारीका लागि शुभकामना दिँदै कार्यक्रममा सहभागीहरूले विश्वविद्यालयको संस्थागत विकासमा उनीहरूको योगदान निरन्तर रहने विश्वास व्यक्त गरे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
















प्रतिक्रिया दिनुहोस्