बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मसुरीबगरस्थित लामा चौरमा एक्साभेटरमाथि गरिएको आगजनी घटनाको विरोध गर्दै नेपाली कांग्रेसले स्थानीय प्रशासन समक्ष ज्ञापन पत्र बुझाएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारीलाई आइतबार कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाँके, कांग्रेस प्रदेश सभा–१ क, कांग्रेस प्रदेश सभा–१ ख र कोहलपुर नगर समितिले संयुक्त रुपमा उक्त ज्ञापन पत्र बुझाएका हुन्। कांग्रेसका क्षेत्रीय प्रतिनिधि एवम नेपाल तरुण दल कोहलपुरका उपसभापति समेत रहेका ब्यवसायी गौरव रावलको भे १ क ११११ नम्बरको उक्त एक्साभेटरमा अज्ञात समूहले केहीदिन अघि आगजनी गरिदिएको थियो।
आगजनीबाट एक्साभेटर पूर्ण रुपमा जलेको छ। तर, अहिलेसम्म प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेको छैन। उक्त घटनाको अहिलेसम्म कसैले जिम्मा नलिएपनि केही महिना अगाडी विप्लव माओवादीको नाममा त्यहाँ झण्डा गाडिएको थियो।
नियम कानुनभित्र रहेर राज्यलाई राजश्व रकम तिरेर भण्डारण गरी गाउँपालिकाबाट स्टक प्रमाणित समेत गरी राखेको नदीजन्य पदार्थलाई नियमानुसार उठाई लैजाने क्रममा राष्ट्रमुखी निर्माण सेवाको पार्किङ गरिएको एक्साभेटरलाई आगजनी गरिएको भन्दै कांग्रेसले खेद ब्यक्त गरेको छ। घटनाको निन्दा गर्दै कानुनी राज्यको महसुस दिलाउन र यथाशीघ्र माग पूरा गरिदिन अनुरोध गरिएको छ। अन्यथा, कांग्रेस आन्दोलित हुन बाध्य हुने चेतावनी समेत दिइएको छ।
आगजनी घटनाको सूक्ष्म तरिकाले अनुसन्धान गरी यथाशीघ्र दोषी पत्ता लगाई कानून बमोजिम कारबाही गर्नुपर्ने, पीडित राष्ट्रमुखी निर्माण सेवाका प्रोपाईटर गौरव रावललाई तत्काल क्षतिपूर्ति दिनुपर्ने र लामाचौरमा पुनः कार्य सञ्चालन गर्नुपर्ने भएकाले सुरक्षा व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ।
सो क्रममा प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीलाई क्षेत्रीय सभापति पोषण केसीले ज्ञापन पत्र हस्तान्तरण गरेका थिए। उक्त ज्ञापन पत्रमा नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाँकेका सभापति पोषण केसी, कांग्रेस प्रदेश सभा–१ क का सभापति लक्ष्मण थारु, कांग्रेस प्रदेश सभा–१ ख सभापति बलराम शर्मा र कोहलपुर नगर सभापति बीरेन्द्र शाहको संयुक्त हस्ताक्षर रहेको छ।
ज्ञापन पत्र बुझाउने क्रममा क्षेत्रीय सचिव खुमबहादुर बस्नेत, कांग्रेसका नेता लुटबहादुर केसी, तरुण दल क्षेत्र नम्बर १ का सभापति दिग्विजय जंग राणा, तरुण दल कोहलपुर नगर सभापति हरी कठायत लगायत कांग्रेसका नेता कार्यकर्ता उपस्थित थिए।
नागरीक दैनिकबाट साभार
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्