चिकित्सक संघद्वारा भोलि अस्पताल बन्ददेखि धर्नासम्मका नयाँ कार्यक्रम घोषणा

वीरगञ्जको नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनालाई लिएर नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

संघको मंगलबार बसेको आकस्मिक बैठकले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आन्दोलनका कार्यक्रम फिर्ता लिएर स्वास्थ्य सेवा जारी राख्न अनुरोध गरे पनि संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। घटना भएको चार दिनसम्म पनि दोषीलाई कारबाही नगरिएको र बरु पीडित पक्षमाथि नै दमन गरिएको आरोप लगाउँदै संघले बुधबार देशभर स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघले जारी गरेको विज्ञप्तिमा दोषीलाई कानुनबमोजिम कारबाही गर्नुको साटो पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि नै दमन र अन्याय गरेको आरोप लगाइएको छ। साथै वार्तामा गएका चिकित्सकमाथि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट भएको दुर्व्यवहार अत्यन्त लज्जास्पद भएको संघले उल्लेख गरेको छ।

साथै, काठमाडौं उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले बिहान १० बजे माइतीघर मण्डलमा भेला भएर विरोध प्रदर्शन गर्नेछन्। उपत्यका बाहिरका चिकित्सकहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर धर्ना दिने कार्यक्रम तय छ।

मंगलबार पनि आकस्मिकबाहेकका सबै सेवा बन्द गरेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विज्ञप्ति निकालेर नारायणी घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी अपिलमा स्वास्थ्य सेवा अत्यन्त संवेदनशील, जीवनरक्षक र अत्यावश्यक सेवा हो। नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्न र निर्बाध रूपमा सेवा प्रवाह गर्न भनिएको थियो।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार