
कोहलपुर । अन्तर्राष्ट्रिय पृथ्वी दिवसको अवसरमा बाँकेको कोहलपुरमा सरसफाइ अभियान तथा सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ। कोहलपुर नगरपालिका, युवा एकता क्लब कोहलपुर–१२ र सम्बर्द्धन परियोजनाको सहकार्यमा वडा नं. १२ अन्तर्गत रोहिणी बजारदेखि चप्परगौडी बजार क्षेत्रसम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो।
वडा नं. १२ का वडाध्यक्ष वीरेन्द्र कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुर, बाँके राष्ट्रिय निकुञ्ज, सामुदायिक वन समूह, टोल विकास समिति, बजार व्यवस्थापन समिति, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नगर प्रहरी, जटायु रिसाइकल प्रा.लि., खेलाडी तथा स्थानीयवासीसहित करिब १०० जनाको सहभागिता रहेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए।

कार्यक्रमका सहभागीहरूले सडक, बजार क्षेत्र तथा सार्वजनिक स्थलमा थुप्रिएको फोहोर संकलन गर्दै सरसफाइ गरेका थिए। साथै वातावरण संरक्षण, फोहोर व्यवस्थापन र स्वच्छ सहर निर्माणमा सबै नागरिकको भूमिका महत्त्वपूर्ण रहने सन्देश दिइएको थियो।
यसै अवसरमा चप्परगौडीस्थित निवुवा चोकमा समाज सेवा संस्था नेपालद्वारा सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको थियो। नाटकमार्फत जथाभावी फोहोर फाल्दा वातावरणमा पर्ने असर, जलस्रोत प्रदूषण र मानव स्वास्थ्यमा देखिने जोखिमबारे जनचेतना फैलाइएको थियो।

त्यसैगरी रोहिणी खोलाको पुल र डुडुवा खोला आसपासका क्षेत्रमा वातावरण संरक्षण तथा सार्वजनिक स्थानमा फोहोर नफाल्न आग्रह गर्दै सूचनामूलक होर्डिङ बोर्ड समेत राखिएको थियो।
कार्यक्रमको अध्यक्षता युवा एकता क्लब कोहलपुरका अध्यक्ष दिपेन्द्र केसीले गरेका थिए। स्थानीय तह, सामाजिक संस्था र नागरिकको संयुक्त प्रयासले वातावरण संरक्षण अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्