Kohalpur Today Header Ads

२०४६ यताका प्रधानमन्त्री–मन्त्री छानबिनको घोषणा, गगन थापाको कडा चेतावनी




नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा जानकी गाउँपालिकामा आयोजित चुनावी आमसभामा गगनकुमार थापा ले आफ्नो दलको संकल्प, प्राथमिकता र आगामी पाँच वर्षका योजनाबारे विस्तृत धारणा सार्वजनिक गरेका छन्।

स्थानीय बासिन्दा, कार्यकर्ता र समर्थकहरूको बाक्लो उपस्थितिमा सम्बोधन गर्दै उनले अघिल्लो सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए। “अघिल्लो समयमा सरकार बनाउने काममै ध्यान केन्द्रित भयो, समय खेर गयो,” उनले भने, “अब पछिल्ला क्षतिको पूर्ति गर्न तीव्र गतिमा काम गर्नु अपरिहार्य छ।”

LIfe Ok

थापाले आगामी पाँच वर्षलाई “असामान्य काम गर्ने समय”का रूपमा व्याख्या गर्दै रोजगारी सिर्जना, लगानीमैत्री वातावरण निर्माण र ठूला पूर्वाधार आयोजनाको तीव्र कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने बताए। “थन्किएका पूर्वाधार छोटो समयमा सम्पन्न गर्न योजना मात्र होइन, उच्च गति र जोखिम लिन तयार नेतृत्व चाहिन्छ,” उनले जोड दिए।

सभापतिले शिक्षा र स्वास्थ्य क्षेत्रमा जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी काम गर्ने दाबी गर्दै “एक रुपैयाँ पनि दुरुपयोग नगरी शिक्षा र स्वास्थ्य बलियो बनाउने” प्रतिबद्धता व्यक्त गरे। साथै, २०४६ यताका सार्वजनिक पदमा रहेका प्रधानमन्त्री र मन्त्रीहरूको छानबिन गर्ने घोषणा गर्दै सुशासनप्रति कडाइका साथ उभिने सन्देश दिए।

इतिहासको प्रसंग उठाउँदै उनले २०६४ पछि संविधान निर्माणमा आएको जटिलतासमेत स्मरण गरे। “नयाँ नेपाल भन्दै आएको माओवादीले संविधान जारी गर्न नसक्दा २०७० सालमा सुशील कोइराला को नेतृत्वमा संविधान जारी भयो,” उनले भने, “अब संविधानको कार्यान्वयन र रक्षाका लागि नेपाली कांग्रेसलाई मत दिनुहोस्।”

कार्यक्रम समापनपछि थापा हेलिकप्टरमार्फत प्रस्थान गर्दा मैदानभर धुलोको मुस्लो उठेको दृश्यले आमसभाको माहोल झन् नाटकीय बनेको थियो। समर्थकहरूले नाराबाजी गर्दै हात हल्लाइरहेका बेला हेलिकप्टरको घुम्ती हावाले उडाएको धुलोले चुनावी गर्मी र तीव्रताको प्रतीक झल्काएको थियो।

चुनावी सरगर्मी बढ्दै जाँदा जानकीको यो आमसभा आगामी निर्वाचनका लागि नेपाली कांग्रेसको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ फागुन १४ गते बिहीबार